पश्चिम एसिया अर्थात् मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वको प्रभाव अब युद्ध क्षेत्रभन्दा बाहिर निस्केर विश्व अर्थतन्त्र हुँदै कृषि क्षेत्रमा समेत देखिन थालेको छ। विश्व आपूर्ति शृङ्खलामा आएको अवरोधले भारतको कृषि क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ, जहाँ किसानहरू मल अभाव, महँगो इन्धन र बढ्दो उत्पादन लागतको दोहोरो दबाब झेलिरहेका छन्।
भारतीय किसानहरूका अनुसार विशेषगरी युरिया र डायमोनियम फस्फेट (डीएपी) जस्ता आधारभूत मलको आपूर्ति उल्लेखनीय रूपमा घटेको छ। कतिपय स्थानमा स्थानीय प्रशासनले सीमित कोटा प्रणाली लागू गर्न थालेको छ।
स्थानीय किसान जगदीप सिंहका अनुसार केही समयअघिसम्म गाउँका प्रत्येक परिवारले १० देखि २० बोरा मल सहजै प्राप्त गर्ने अवस्था थियो। तर अहिले त्यो परिमाण घटेर एक–दुई बोरामा सीमित भएको छ। कृषि सहकारी संस्थाहरूले समेत युरियाको मौज्दात सकिएको जानकारी दिन थालेका छन्।
विश्लेषकहरूका अनुसार समस्या केवल मलको उपलब्धतामा मात्र सीमित छैन। अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोधले मल तथा कीटनाशक उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा असर पुर्याएको छ। परिणामस्वरूप बजारमा उपलब्ध विकल्पहरू समेत महँगा हुँदै गएका छन्।
महाराष्ट्रका कृषि आपूर्ति व्यवसायी राजेन्द्र वाघका अनुसार कीटनाशक उत्पादनका लागि प्रयोग हुने अधिकांश कच्चा पदार्थ विदेशबाट आयात गरिन्छ। मध्यपूर्व क्षेत्रमा जारी अस्थिरताका कारण आयातमा बारम्बार समस्या आउँदा कीटनाशकको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको छ। उनका अनुसार युरिया र डीएपीको पर्याप्त मौज्दात नभएकाले मिश्रित मलको मूल्यसमेत बढ्दै गएको छ, जसले किसानको उत्पादन लागत असहज बनाएको छ।
ऊर्जा बजारमा देखिएको उतारचढावले कृषि क्षेत्रलाई अर्को चुनौती थपेको छ। कृषि विश्लेषकहरूका अनुसार पेट्रोल, डिजेल र प्राकृतिक ग्यासको मूल्य वृद्धिले यातायातदेखि ट्र्याक्टर सञ्चालनसम्मको खर्च बढाएको छ।
लासुर कृषि उत्पादन बजार समितिका उपाध्यक्ष अनिल राजारामका अनुसार इन्धन महँगिएसँगै कृषि मेसिनरी प्रयोग खर्च र श्रम लागत दुवै उकालो लागेको छ, जसले किसानको नाफा घटाउने जोखिम बढाएको छ।
कृषि क्षेत्रका जानकारहरू भन्छन्, उत्पादन लागतको अन्तिम भार उपभोक्ताले नै बेहोर्नुपर्ने हुन्छ। मल अभावका कारण उत्पादन घटे बजारमा खाद्यान्न आपूर्ति कम हुनेछ, जसले मूल्यवृद्धिलाई थप चर्काउन सक्छ।
स्थानीय अन्न बजारका निर्देशक दीपक चान्डलीका अनुसार यदि अहिलेको अवस्था लम्बियो भने उत्पादन घट्ने, बजारमा अभाव सिर्जना हुने र खाद्यान्नको मूल्य बढ्ने सम्भावना बलियो छ। यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्नेछ।
विश्व राजनीतिक तनावले अब केवल सीमामा होइन, खेतबारीसम्म असर पुर्याउन थालेको यो घटनाक्रमले कृषि आपूर्ति प्रणाली कति संवेदनशील छ भन्ने तथ्य फेरि उजागर गरेको छ।
प्रकाशित: ३० जेष्ठ २०८३ १९:४३ शनिबार





