मानवअधिकार समूहहरू र अधिकारकर्मीहरूले चीनको सिचुआन प्रान्तमा एक वरिष्ठ अधिकारीमाथि लागेको कथित भ्रष्टाचार उजागर गरेपछि दुई खोजी पत्रकारलाई हिरासतमा लिइएकोप्रति चिन्ता व्यक्त गरेका छन्। राइट्स समूहका अनुसार स्वतन्त्र पत्रकार लिउ हू र वु यिङजियाओलाई उनीहरूको खोजी रिपोर्ट प्रकाशित भएपछि आइतबार प्रहरीले हिरासतमा लिएको हो।
आलोचकहरूले चीनमा लामो समयदेखि मिडियामाथि हुने दबाब र नियन्त्रणसम्बन्धी घटनाप्रति चिन्ता जनाउँदै आएका छन्। यसअघि पनि चीनमा पत्रकारहरूले विभिन्न मुद्दा र कानुनी कारबाहीको सामना गर्नुपरेको छ।
चेंगदू प्रहरीले सोमबार जानकारी दिँदै लिउ र वु थर भएका दुई व्यक्ति ‘झुटा आरोप लगाएको’ र ‘अवैध व्यावसायिक गतिविधि’सम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा रहेको जनाएको छ। हिरासतमा परेकामध्ये एक जनाको उमेर ५० वर्ष र अर्कोको ३४ वर्ष रहेको बताइएको छ।
चीन सरकारको तर्फबाट यी गिरफ्तारीबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। लिउ चीनका चर्चित खोजी पत्रकार हुन्। उनलाई यसअघि सन् २०१३ मा पनि पक्राउ गरिएको थियो। त्यसबेला एक उच्च पदस्थ अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएपछि मानहानिको आशंकामा उनलाई पक्राउ गरिएको थियो।
तर सन् २०१४ मा रिहा भएपछि लिउले आफ्नो खोजी पत्रकारितालाई निरन्तरता दिए र सामाजिक सञ्जालमार्फत आफ्ना रिपोर्टहरू प्रकाशित गर्दै आएका छन्। एजेन्सी
प्रकाशित: २१ माघ २०८२ ११:२६ बुधबार





