२४ आश्विन २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

नोबेल शान्ति पुरस्कारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो र उनले पुरस्कार नपाए दिन सक्ने प्रतिक्रियाका कारण यस वर्षको विजेता घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ। नर्वेको राजधानी ओस्लोमा शुक्रबार विजेताको घोषणा हुँदैछ।

यस वर्ष २८७ व्यक्ति तथा संस्था पुरस्कारका लागि मनोनयनमा परेका छन्। विशेषज्ञहरूले ट्रम्पले पुरस्कार पाउने सम्भावना नरहेको आकलन गरेका छन्। उनले आठ वटा युद्ध अन्त्य गरेको दाबी गर्दै आफू पुरस्कारका लागि योग्य रहेको बताउँदै आएका छन्।

ओस्लोका विश्लेषकहरूले ट्रम्पको इरानसम्बन्धी नीति, ग्रिनल्यान्डप्रतिको महत्त्वाकांक्षा र आप्रवासीप्रतिको कठोर व्यवहारलाई पुरस्कारका लागि बाधक मानेका छन्। शान्ति अनुसन्धान संस्थानका प्रमुख हाकोन जेर्लोले पुरस्कार छनोटले ह्वाइट हाउसको प्रतिक्रिया निम्त्याउन सक्ने जोखिमबारे समितिले विचार गर्नुपर्ने बताएका छन्। तर नोबेल समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले बाह्य दबाबले निर्णय प्रभावित नहुने स्पष्ट पारेका छन्।

सम्भावित विजेतामा बाल संरक्षण र मानवीय सहायतामा संलग्न संस्था, युक्रेनी बालबालिकाको स्वदेश फिर्तीका अभियन्ता माइकोला कुलेबा तथा सुडानका पीडितलाई सहयोग गर्ने स्वयंसेवक सञ्जाल आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) छन्। अर्कोतर्फ, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय न्यायिक संस्थाहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

गत वर्ष पुरस्कार पाएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो स्वर्ण पदक ट्रम्पलाई दिएका थिए। यस वर्षको नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ। पुरस्कारसँगै प्रमाणपत्र, स्वर्ण पदक र १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ।

प्रकाशित: २३ आश्विन २०८३ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App