भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालको बढ्दो ‘रील्स’ प्रवृत्तिलाई आफ्नो सरकारको उपलब्धि मानेका छन्।
बिहारको समस्तीपुरमा एनडीए चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले एनडीए सरकारको कार्यकालमा इन्टरनेट आम मानिसको पहुँचमा पुगेको प्रशंग निकालेर यस्तो दाबी गरेका हुन्। उनले भनेका छन्, ‘आज एक जीबी डाटाको मूल्य एक कप चियाभन्दा कम छ। त्यसैले, युवाहरूले इन्टरनेटमा रचनात्मकता प्रदर्शन गरेर राम्रो आम्दानी गरिरहेका छन्।’
बिहार विधानसभा चुनावको क्रममा शुक्रबार मोदी समस्तीपुर पुगेका थिए। सो अवसरमा उनले समस्तीपुरमा एनडीए र्यालीलाई सम्बोधन गरेका हुन्। समस्तीपुरमा सम्बोधनको क्रममा मोदीले मानिसहरूलाई मोबाइल फोनको फ्ल्यासलाइट बाल्न आग्रह गरे। जब मानिसहरूले फ्ल्यासलाइट बाले, उनले मञ्चबाट भने, ‘जब सबैसँग यति धेरै उज्यालो हुन्छ, लालटिन (आरजेडीको चुनाव चिन्ह) को के आवश्यकता छ?’
उनले थपे, ‘धेरै देशहरूमा एक जीबी डाटाको मूल्य अझै पनि सयदेखि एक सय ५० भारतीय रुपैयाँ पर्छ। तर भारतमा तपाईंको चियावाला (मोदी) ले एक जीबी डाटा एक कप चिया भन्दा महँगो नहुने कुरा सुनिश्चित गरेको छ।’ उनले युवाहरूले सस्तो डेटाको फाइदा उठाएर रील्समार्फत रचनात्मकता देखाउने गरेको बताए। भाजपा र एनडीएका नीतिहरूले यो रचनात्मकतामा योगदान पुर्याएको र युवाहरूले इन्टरनेटबाट राम्रो आम्दानी गरेको उनको दाबी थियो।
यो बयानले मोदीको आलोचना पनि भएको छ। यसअघि कांग्रेस नेता राहुल गान्धीले रील बनाउने प्रवृत्तिलाई बेरोजगारीको समस्या भनेका थिए। तर मोदीले रील बनाउने कामलाई सरकारको उपलब्धि भनेपछि धेरैले उनको बयानको मजाक उडाएका छन्। एजेन्सी
प्रकाशित: ९ कार्तिक २०८२ १३:३८ आइतबार




-600x400.jpg)
