पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन-जी कार्यकर्ताको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गरेका छन्।
अधिकारीका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन्। प्रहरीले प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र एक प्रदर्शनकारीको हत्याको अनुसन्धान गरिरहेको जनाएको छ।
‘मेरो कर्तव्य देशको स्थिरता कायम राख्नु हो; यो मेरो जिम्मेवारी र प्रतिबद्धता हो,’ राष्ट्रपतिले पेरुको संसद् भ्रमणपछि स्थानीय सञ्चारमाध्यमसँग भने। उनले अपराध नियन्त्रणका लागि संसद्सँग थप अधिकार माग्ने तयारीमा रहेको पनि बताए।
युवाको लागि राम्रो पेन्सन र तलबको माग गर्दै सुरु भएको विरोध प्रदर्शनले पछिल्लो एक महिनामा भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभंगबाट थकित पेरुवासीको आक्रोशको रूप लिँदै गएको छ।
अक्टोबर १० मा पदभार ग्रहण गरेका जेरी हालका सातौँ राष्ट्रपति हुन्। उनलाई प्रदर्शनकारीले तत्काल राजीनामा दिन र संसद् विघटन गर्न आग्रह गरेका छन्।
गोलीकाण्ड र अनुसन्धान
पेरुको अभियोजक कार्यालयले बिहीबार ३२ वर्षीय प्रदर्शनकारी तथा हिपहप गायक एडुआर्डो रुइजको मृत्युको अनुसन्धान सुरु गरेको जनाएको छ। उनलाई हजारौँ युवा सहभागी भएको प्रदर्शनको बीचमा गोली हानिएको पुष्टि गरिएको छ। अभियोजक कार्यालयले सामाजिक सञ्जाल एक्समा लेख्दै लिमा अस्पतालबाट रुइजको शव हटाउन र ‘गम्भीर मानव अधिकार उल्लङ्घनको सन्दर्भमा अडियोभिजुअल र ब्यालिस्टिक प्रमाण संकलन’ गर्न आदेश दिएको बताएको छ।
स्थानीय मिडिया र सुरक्षा क्यामेरामा देखिए अनुसार रुइज गोली लागेपछि सडकमा लडेका थिए र गोली चलाउने व्यक्ति भीडबाट भागेको थियो। प्रत्यक्षदर्शीले भाग्ने व्यक्ति सादा पोशाकमा प्रहरी भएको आशंका गरेका छन्।
ओम्बुड्सम्यान कार्यालयका अनुसार प्रदर्शनमा कम्तीमा २४ जना प्रदर्शनकारी र ८० जना प्रहरी अधिकारी घाइते भएका छन्। राष्ट्रिय पत्रकार सङ्घका अनुसार छ जना पत्रकार पेलेटले घाइते भएका र अन्य चारजनालाई प्रहरीले कुटपिट गरेको छ।
राष्ट्रपतिले रुइजको मृत्युमा दुख प्रकट गरेका छन् र हिंसा नियन्त्रणका लागि संयम अपनाउन आग्रह गरेका छन्।
विश्वव्यापी आन्दोलनसँग सम्बन्ध
युवापुस्ताको असन्तुष्टिबाट प्रेरित पेरुवेली विरोध प्रदर्शन हाल विश्वव्यापी आन्दोलनको शृङ्खलासँग जोडिएका छन्। नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा यस्तै आन्दोलन भइरहेका छन्। प्रदर्शनकारीले प्रायः ‘वन पिस’ एनिमेमा प्रयोग भएको स्ट्राटोपी लगाएको समुद्री डाकूको खोपडी भएको कालो झण्डा बोकेका छन्।
लिमाको मुख्य प्लाजामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले टिकटकमार्फत प्रदर्शनबारे थाहा पाएपछि सहभागी हुने निर्णय लिएको बताए। उनले भने, ‘हामी भ्रष्टहरू विरुद्ध लडिरहेका छौँ, त्यही कारणले हामी यहाँ छौँ। सन् २०२२ को आन्दोलनमा ५० जनाको मृत्यु भएको थियो, अहिले पनि स्थिति उस्तै छ।’
राजनीतिक संकट र नयाँ राष्ट्रपति
यो विरोध त्यतिबेला चर्किएको हो जब पेरुको संसद्ले तत्कालीन राष्ट्रपति डिना बोलुआर्तेलाई पदमुक्त गर्यो, जसलाई विरोध प्रदर्शन दबाउन र अपराध नियन्त्रण गर्न असफल भएको आरोप लागेकै कारण अत्यन्त अलोकप्रिय ठहर गरिएको थियो।
काङ्ग्रेसका अध्यक्ष रहेका ३८ वर्षीय जोसे जेरीले अपराध नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रपति पदमा शपथ लिएका थिए। उनले सोशल मिडियामा सक्रिय तथा अति रूढीवादी पूर्वन्यायाधीश अर्नेस्टो अल्भारेजलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
अल्भारेजले यस घटनाबारे हालसम्म टिप्पणी गरेका छैनन्। तर पहिले उनले पेरुको जेन-जी आन्दोलनलाई ‘लोकतन्त्रलाई नष्ट गर्न खोज्ने गिरोह’ भनेर वर्णन गरेका थिए।
आरोप र असन्तुष्टि
राष्ट्रपति जेरी पनि विवादबाट जोगिन सकेका छैनन्। उनमाथि पहिले एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो, जुन मुद्दा गत अगस्टमा खारेज गरिएको थियो। यद्यपि सो घटनामा संलग्न अन्य व्यक्तिको अनुसन्धान अझै जारी छ।
प्रदर्शनकारीले उनमाथि आपराधिक समूहलाई फाइदा पुग्ने गरी बनाइएका कानूनको समर्थन गरेको आरोप पनि लगाएका छन्। प्रदर्शनका क्रममा ‘बलात्कारी जेरी हो’ र ‘जेरी भाइलिन हो’ भन्ने नारा घन्किएका थिए। पेरुमा ‘भाइलिन’ शब्द बलात्कारीका लागि प्रयोग हुने अशिष्ट शब्द हो। प्रदर्शनकारीले आतिशबाजी प्रहार गर्दा प्रहरीले अश्रुग्याँस र रबर पेलेट प्रयोग गरी जवाफ दिएको थियो।
दशकौँको निराशाको विस्फोट
पेरुमा दशकौँदेखि जारी राजनीतिक अस्थिरता, भ्रष्टाचार र राज्य क्षमताको ह्रासले जनतामा गहिरो निराशा जन्माएको छ। समाजशास्त्री तथा पोन्टिफिकल क्याथोलिक विश्वविद्यालयका प्राध्यापक ओमार कोरोनेलका अनुसार पेन्सनको मागपछि असुरक्षा, भ्रष्टाचार र राज्यप्रतिको अविश्वासजस्ता अन्य समस्या जोडिएका छन्।
हालका हिंसात्मक दृश्यले सन् २०२२ मा भएको विरोध प्रदर्शनको सम्झना दिलाएका छन्। उक्त प्रदर्शनमा ५० जना नागरिकको मृत्यु भएको थियो।
यसपटक पनि प्रदर्शनकारीले ‘विरोध गर्नु अधिकार हो, हत्या गर्नु अपराध हो’ भन्ने नारासहित र्याली निकाले। एक युवतीले ‘खुनीबाट बलात्कारी, उही फोहोर सरकार’ लेखिएको पोस्टर बोकेकी थिइन्। डेभिड टाफुरले भने, ‘शक्तिको दुरुपयोग, भ्रष्टाचार र निर्दोषको हत्याविरुद्ध यो हाम्रो क्रोध हो।’ एपी
प्रकाशित: १ कार्तिक २०८२ ०७:०९ शनिबार





