५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमण : बसेको होटल नजिकै विस्फोट हुँदा १८ जना घाइते

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सिरिया भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्। 

त्यहाँको गृह मन्त्रालयका अनुसार विस्फोटमा कम्तिमा १८ जना घाइते भएका छन्। केही दिनयता राजधानीमा भएको यो दोस्रो ठूलो विस्फोट हो। लामो समयदेखिको तानाशाही शासन अन्त्य भएपछि पश्चिमी राष्ट्रका नेताले गरेको यो पहिलो भ्रमणलाई नयाँ सरकारका लागि ठूलो धक्काको रूपमा हेरिएको छ। विस्फोट हुँदा म्याक्रोन राष्ट्रपति भवनभित्रै थिए। एलिसी दरबारका एक अधिकारीले म्याक्रोन सुरक्षित रहेको र सिरियाली राष्ट्रपति अहमद अल-शारासँगको भेटघाट जारी राखेको बताए। उनले नाम नबताउने सर्तमा म्याक्रोनको सुरक्षा अवस्थाबारे जानकारी दिएका हुन्।

विस्फोटपछि म्याक्रोनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिरियाली महिला र पुरुषहरूको पूर्ण सार्वभौमसत्ता सम्पन्न, सुरक्षित, बहुलवादी र एकताबद्ध सिरियामा बस्नको आकांक्षालाई कुनै पनि कुराले दबाउन सक्दैन। आज बिहान मैले सिरियालाई यसको सबै विविधतामा भेटें। मैले मर्यादा, साहस र दृढ संकल्प देखेँ।’

सिरियाली मिडियाले म्याक्रोन बसेको मानिएको फोर सिजन्स होटल नजिकै विस्फोट भएको जनाएका छन्। घटनास्थलमा धुवाँको ठूलो मुस्लो देखिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा पर्यटन मन्त्रालयको मुख्यालय र दमास्कस राष्ट्रिय संग्रहालय नजिकैको व्यस्त सडकमा सवारी साधनहरू जलिरहेको र रगतका दागहरू देखिएका छन्।

गृह मन्त्रालयका अनुसार राजधानीको मुटुमा भएका दुई विस्फोट विस्फोटक उपकरणहरूबाट गराइएका हुन्। एउटा विस्फोट फोहोरको भाँडोमा र अर्को पार्किङ गरिएको कारमा भएको मन्त्रालयले जनाएको छ। घाइते हुनेमा चार प्रहरी अधिकारी छन्। अनुसन्धान जारी रहेको घटनामा हालसम्म कसैको मृत्युको खबर छैन। अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी पनि लिएको छैन।

यसअघि केही दिनअघि मात्र दमास्कसको जस्टिस प्यालेस नजिकैको एक क्याफेमा भएको विस्फोटमा १० जनाको मृत्यु भएको थियो भने २० भन्दा बढी घाइते भएका थिए।

सिरियाका नयाँ शासक अल-शाराले देशमा पूर्ण नियन्त्रण कायम गर्ने र स्थिरता ल्याउने प्रयास गरिरहेका छन्। म्याक्रोन सिरियाको भ्रमण गर्ने पहिलो प्रमुख पश्चिमी नेता हुन्। उनी सोमबार राति आर्थिक प्रतिनिधिमण्डलसहित दमास्कस पुगेका थिए। म्याक्रोनले सिरियामाथि लगाइएका अधिकांश प्रतिबन्धहरू हटाउन पहल गरेका थिए भने पुनर्निर्माणका लागि लगानीकर्ताहरूलाई आकर्षित गर्ने योजनासहित समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

राष्ट्रपति भवन पुग्नुअघि म्याक्रोनले सिरियाली नागरिक समाजका सदस्यहरूसँग पनि भेट गरेका थिए। सिरियामा विगत १४ वर्षदेखि जारी द्वन्द्वमा करिब पाँच लाख मानिसको ज्यान गएको छ। देशको पूर्वाधार ध्वस्त भएको छ र पुनर्निर्माणका लागि सयौं अर्ब डलरको आवश्यकता रहेको छ। 

प्रकाशित: २३ असार २०८३ १८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App