१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सात करोड ४० लाख वर्ष पुरानो सानो स्तनपायीको जीवाश्म भेटियो

वैज्ञानिकले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको सानो मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन्।

‘येउथेरियम प्रेसर’ को तौल ३० देखि ४० ग्राम (लगभग एक औंस) थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख वर्षअघि बस्थ्यो।

यो दक्षिण अमेरिकाको यो क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्वीपीय भू–भागको हिस्सा थियो।

चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीमा वैज्ञानिकको टोलीको नेतृत्व गर्ने हान्स पुशेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बङ्गाराको सानो टुक्रा र अन्य दुई दाँतको मुकुट र जरा छन्।’

यो खोज यो महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको थियो।

अनुसन्धानकर्ताले सान्टियागोबाट करिब तीन हजार किलोमिटर (एक हजार आठ सय ६४ माइल) दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन्।

सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपसजस्तै अण्डा दिएको हुन सक्छ वा यसको बच्चालाई कङ्गारू वा ओपोसमजस्ता थैलीमा बोकेको हुन सक्छ।

यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारी थियो भन्ने देखाउँछ।

आफूसँग सहअस्तित्व भएका डायनासोरजस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब छ करोड ६० लाख वर्षअघि अकस्मात् लोप भयो। एएफपी

प्रकाशित: २७ श्रावण २०८२ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App