कोसोभोका पूर्व राष्ट्रपति हाशिम थाचीलाई युद्ध अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ। कोसोभो युद्ध अपराधसम्बन्धी विशेष अदालतले सर्बियाबाट स्वतन्त्रताका लागि भएको १९९८-९९ को युद्धका क्रममा भएका अपराधमा थाचीलाई दोषी ठहर गरेको हो।
५८ वर्षीय थाचीलाई हत्या, यातना र गैरकानुनी थुनालगायत चारवटा युद्ध अपराधमा दोषी ठहर गरिएको हो। अदालतका अनुसार कोसोभो लिबरेसन आर्मी (केएलए) का वरिष्ठ कमान्डर रहेका बेला थाचीको नेतृत्वमा राजनीतिक विरोधी तथा सर्बियाली सुरक्षा निकायसँग सहकार्य गरेको आरोप लागेका व्यक्तिहरूमध्ये ९६ जनाको हत्या भएको थियो।
थाचीले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्। बुधबार द हेगस्थित अदालतमा फैसला सुनाइँदा उनी मौन बसेका थिए। अदालतले केएलएका अन्य तीन पूर्व वरिष्ठ कमान्डरलाई पनि विभिन्न अपराधमा सजाय सुनाएको छ। जाकुप क्रास्निकीलाई २५ वर्ष, काद्री भेल्सीलाई १८ वर्ष र रेक्सेप सेलिमीलाई १३ वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूले फैसलाविरुद्ध पुनरावेदन गर्न पाउनेछन्।
अदालतले चारै जनालाई मानवताविरुद्धका अपराधसम्बन्धी थप ६ आरोपमा भने सफाइ दिएको छ। अभियोजन पक्षले ती अपराध सर्वसाधारणमाथि व्यापक र योजनाबद्ध आक्रमणको हिस्सा भएको प्रमाणित गर्न नसकेको अदालतले जनाएको छ।
फैसलापछि कोसोभोमा तीव्र प्रतिक्रिया देखिएको छ। कोसोभोका विदेशमन्त्री ग्लाउक कोन्जुफ्काले फैसलालाई ‘कोसोभोका लागि खराब र हानिकारक’ भएको बताएका छन्। राजधानी प्रिस्टिनामा हजारौँ मानिसले ठूलो पर्दामार्फत फैसलाको प्रत्यक्ष प्रसारण हेरेका थिए। केहीले थाची र केएलएको समर्थनमा नाराबाजी गरेका थिए।
सर्बियाले भने फैसलालाई स्वागत गरेको छ। सर्बियाका उपप्रधानमन्त्री तथा गृहमन्त्री इभिका डासिचले फैसलाले सर्बियाले लामो समयदेखि उठाउँदै आएको आरोपलाई पुष्टि गरेको बताएका छन्।
१९९० को दशकमा सर्बियाबाट स्वतन्त्रताको माग गर्दै केएलएको सशस्त्र गतिविधि तीव्र भएपछि सर्बियाली सुरक्षा बलसँग युद्ध चर्किएको थियो। १९९८-९९ को युद्धमा करिब १३ हजार मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको अनुमान छ।
युद्धपछि थाची कोसोभोका प्रधानमन्त्री तथा विदेशमन्त्री बनेका थिए। उनी २०१६ देखि २०२० सम्म राष्ट्रपति रहे। युद्ध अपराधसम्बन्धी आरोप लागेपछि उनले नोभेम्बर २०२० मा राष्ट्रपतिको पदबाट राजीनामा दिएका थिए।
प्रकाशित: १ आश्विन २०८३ ०६:५८ बिहीबार


-600x400.jpg)


