२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा डुंगामा आगलागी हुँदा पाँच जनाको मृत्यु, ८७ बेपत्ता

फिलिपिन्सको पलावान प्रान्तमा पर्यटकीय गन्तव्य नजिकै डुंगामा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा ८७ जना बेपत्ता भएका छन्।

स्थानीय समयअनुसार बुधबार साँझ एमभी जुन एस्टरमा आगलागी भएको तटरक्षकले जनाएको छ। आगलागी भएको डुंगा तटबाट करिब २.२ किलोमिटर टाढा थियो। तटरक्षकले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा डुंगा पूर्ण रूपमा आगोमा जलेको देख्न सकिन्छ।

फिलिपिन्स कोस्ट गार्डकी क्याप्टेन नोएमी कायाब्यबले बिहीबार स्थानीय रेडियोलाई उद्धार गरिएका ४२ जना र मृतकको विवरणका आधारमा अझै ८७ जना बेपत्ता रहेको बताइन्। डुंगाको म्यानिफेस्टमा १३४ यात्रु तथा चालक दलका सदस्यको नाम रहेको उनले बताइन्।

उद्धार गरिएकामध्ये ३८ जना यात्रु र चार जना चालक दलका सदस्य छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले तथ्यांक परिवर्तन हुन सक्ने कायाब्यबले बताइन्।

उद्धार गरिएकासँग अझै कुराकानी गर्न नसकिएकाले थप जानकारी प्राप्त हुन नसकेको उनले बताइन्। आगो निभाउने प्रयास पनि जारी रहेको तटरक्षकले जनाएको छ। मरीनट्राफिकको तथ्यांकअनुसार जुन एस्टर मनिलाबाट प्रस्थान गरेको थियो। एजेन्सी

प्रकाशित: २५ भाद्र २०८३ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App