२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूस र उत्तर कोरियाबिच पहिलो सडक पुल सञ्चालन

रूस र उत्तर कोरियाले टुमेन नदीमाथि बनेको आफ्नो पहिलो सडक पुल उद्घाटन गरेका छन्।

दुई देशबिच बढ्दो रणनीतिक साझेदारीका बिच निर्माण भएको यो पुललाई आपसी सहयोग विस्तारको महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। एक किलोमिटर लामो दुई लेनको पुल उद्घाटन समारोहमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन र उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सोङ भिडियोमार्फत सहभागी भएका थिए। झन्डाले सजिएका ट्रकहरू पनि उद्घाटनका क्रममा पुल पार गरेका थिए।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन् २०२४ को उत्तर कोरिया भ्रमणका क्रममा भएको सहमतिपछि पुल निर्माण सुरु भएको थियो। यसअघि दुई देशबिच रेल र हवाई सम्पर्क भए पनि सिधा सडक सम्पर्क थिएन। मिशुस्टिनले पुलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग विस्तारमा सहयोग पुग्ने बताए। उनका अनुसार पुलबाट दैनिक करिब ३०० सवारी साधन आवतजावत गर्न सक्नेछन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले पुलले आर्थिक सहयोग, पर्यटन, जनस्तरको आदानप्रदान र वस्तु व्यापार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ। युक्रेन युद्धपछि रूस र उत्तर कोरियाबिचको सम्बन्ध झन् नजिकिएको छ। उत्तर कोरियाले रूसलाई सैन्य सहयोगसमेत गर्दै आएको अवस्थामा नयाँ सडक पुलले दुई देशबिचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित: २३ भाद्र २०८३ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App