३० असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

११ वर्षीय बालकले चलाएको ट्रकको ठक्करबाट आठ भिक्षुको मृत्यु

थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले चलाएको ट्रकको ठक्करबाट आठ भिक्षुको मृत्यु भएको छ।

अभिभावकको अनुमति बिना चलाउने क्रममा धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा आठ भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।

घटनापछि प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार ३५ जना भिक्षु र पाँच जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका थिए। पिकअप ट्रक नियन्त्रणबाहिर गई उनीहरुलाई ठक्कर दिँदा पाँच भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो।

तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको मुकदाहान अस्पतालमा उपचार भइरहेको छ।

मुकदाहान प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पैरोज थाइफुत्साले गाडीलाई प्राविधिक परीक्षणका लागि पठाइएको र दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको जानकारी दिए।

उनका अनुसार बालकका अभिभावकलाई पनि अनुसन्धानको लागि बोलाइएको छ र बालकको जिम्मेवारी कसको थियो भन्ने आधारमा कानूनी प्रक्रिया अघि बढाइनेछ।

मुकदाहान सिटी प्रहरी प्रमुख प्रयुत रुआनथोङ्कमले दुर्घटनामा संलग्न चालक ११ वर्षीय बालक रहेको पुष्टि गरे। घटनालगत्तै उद्धार तथा आपत्कालीन स्वास्थ्यकर्मी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए।

मुकदाहानका प्रान्तीय गभर्नर वोरायन बुन्नारतले यो घटनालाई सडक सुरक्षाबारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए। 

प्रकाशित: १८ असार २०८३ १४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App