इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् कि इजिप्ट र अन्तर्राष्ट्रिय रेडक्रसका टोलीहरूलाई गाजामा बन्धक बनेकाहरूका शवहरू खोज्न अनुमति दिइएको छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमलाको क्रममा हमासले यी व्यक्तिहरूलाई बन्धक बनाएको थियो।
इजरायली सरकारले भनेका अनुसार, ती टोलीहरूलाई गाजामा इजरायली सेनाको नियन्त्रणमा रहेको क्षेत्रभित्रको भनिने ‘पहेंलो रेखा’ नाघेर पनि खोजकार्य गर्न अनुमति दिइएको छ। यसैबीच, आइतबार इजरायली मिडियाले जनाएअनुसार, हमासका सदस्यहरूलाई पनि रेडक्रसका टोलीसँगै गाजाको इजरायली सेनाको नियन्त्रणमा रहेको भागमा प्रवेश गरी खोज अभियानमा सहयोग गर्न अनुमति दिइएको छ।
अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताका पहिलो चरण अन्तर्गत, हमासले २८ मध्ये १५ जना इजरायली बन्धकका शवहरू फिर्ता गरिसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन् कि उसले बन्धकका शवहरू ‘छिटो फिर्ता गर्नुपर्छ’, अन्यथा यो शान्ति प्रक्रियामा संलग्न अन्य देशहरूले हमासविरुद्ध कारबाही गर्नेछन्।
प्रकाशित: १० कार्तिक २०८२ ०९:३५ सोमबार


-600x400.jpg)


