प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा फैलिनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन्।
कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार अक्टोबर ६ सम्ममा आठ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार २०५ जनाको मृत्यु भएको छ। मे महिनाको मध्यमा प्रकोप घोषणा भएयता सात प्रान्तका ६४ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारी वेसम मानकोलाका अनुसार पछिल्ला तीन सातामा इटुरी प्रान्तमा सङ्क्रमण २४ प्रतिशत र उत्तरी किभुमा १९ प्रतिशतले घटेको छ। तर, असुरक्षा र स्थानीय समुदायको असहयोगले सङ्क्रमणको निगरानी तथा विवरण सङ्कलनमा बाधा पुगेकाले वास्तविक अवस्था फरक हुन सक्ने उनले बताए।
प्रभावित ६४ स्वास्थ्य क्षेत्रमध्ये ४७ वटामा अझै सक्रिय सङ्क्रमण छ। इबोलाबाट हुने ६० देखि ७० प्रतिशत मृत्यु स्वास्थ्य संस्थाबाहिर हुने गरेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानमा कमजोरी रहेको अधिकारीहरूले बताएका छन्।
यसैबीच, केन्यामा पहिलो पटक बाहिरबाट भित्रिएको इबोला सङ्क्रमण पुष्टि भएपछि क्षेत्रीय जोखिम बढेको छ। कङ्गोमा बस्दै आएका ४० वर्षीय केन्याली व्यापारीमा सङ्क्रमण पुष्टि भएको थियो। उनी सेप्टेम्बरमा बिरामी परेका थिए र अक्टोबर ३ मा युगान्डा हुँदै नैरोबी पुगेका थिए। सोमबार उनको मृत्यु भएको थियो।
केन्याका अधिकारीले कम्पालाबाट नैरोबी गएको उडानका यात्रु तथा चालक दलका सदस्यसहित ५५ जनालाई निगरानीमा राखेका छन्। कङ्गो, युगान्डा र केन्याले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न सहकार्य गरिरहेका छन्।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले निगरानी र समुदायसँगको सहकार्यमा सुधार भए पनि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी पर्याप्त नभएको बताएका छन्। उनले केन्याले सङ्क्रमणबारे तत्काल जानकारी गराएकोमा प्रशंसा गर्दै पारदर्शितालाई दण्डित नभई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्। दुवै स्वास्थ्य निकायले यात्रा प्रतिबन्धको सट्टा स्वास्थ्य परीक्षण, शीघ्र पहिचान र सूचनाको आदानप्रदानमा जोड दिएका छन्।
खोप र उपचारको चुनौती
बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध हालसम्म विशेष खोप वा उपचार स्वीकृत भएको छैन। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको प्रारम्भिक परीक्षण अक्टोबर ६ मा युगान्डामा सुरु भएको छ भने मोडर्नाले विकास गरेको अर्को खोपले परीक्षणका लागि नैतिक स्वीकृति पाएको छ।
कङ्गोले जाइर इबोला भाइरसविरुद्ध स्वीकृत एरभेबो खोपको ७० हजार मात्रा प्राप्त गरे पनि उक्त खोप बुन्डिबुग्यो भाइरसविरुद्ध प्रभावकारी प्रमाणित भएको छैन। अक्टोबर ७ सम्ममा सात हजार ७७५ स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइएको छ।
थप ८४८ जनाले अनुसन्धान कार्यक्रमअन्तर्गत खोप पाए पनि आपूर्तिको अभावमा उक्त कार्यक्रम स्थगित भएको छ। प्रयोगात्मक उपचारको परीक्षणमा ६५४ जना सहभागी छन्।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यो अभिलेखमा सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोप हो। यो विश्वकै दोस्रो ठूलो र कङ्गोमा अहिलेसम्मकै ठूलो प्रकोप हो। मानवीय सङ्कट जारी रहेकाले सङ्क्रमणको निगरानी, सम्पर्कमा आएका व्यक्तिको पहिचान र उपचारका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन्।
प्रकाशित: २३ आश्विन २०८३ १५:१८ शुक्रबार





