२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले इरानसँग नयाँ वार्ता मिति घोषणा गरेपछि कच्चा तेलको मूल्यमा भारी गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि उच्चस्तरीय वार्ता सुरु हुने औपचारिक रूपमा घोषणा गरेका छन्। 

यसअघि उनले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारलगायत मध्यपूर्वी सहयोगी देशहरूको विशेष आग्रहपछि इरानमाथि तय गरिएको ठूलो सैन्य आक्रमण हाललाई स्थगित गरेका थिए।

ट्रम्पले इरानको आणविक क्षमता र होर्मुज जलमार्ग खुलाउने विषयमा छिट्टै नै महत्त्वपूर्ण सम्झौतामा पुग्ने विश्वास व्यक्त गरेका छन्। यस निर्णयले पाँच महिनाभन्दा लामो समयदेखि चलिरहेको गम्भीर द्वन्द्वलाई कूटनीतिक मार्गमा ल्याउन सक्ने ठूलो अपेक्षा गरिएको छ।

वाशिंगटन फर्कने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब हामी उनीहरूसँग वार्ताको रूपमा कुरा गर्दैछौं। यो भोलि दिउँसो सुरु हुन्छ।’ उनले थप भने, ‘म सम्झौता गर्न चाहन्छु। म मानिसहरू मार्न खोजिरहेको छैन किनभने मानिसहरू मर्छन्, धेरै मानिसहरू मर्छन्, र हामी त्यो चाहँदैनौं।’

ट्रम्पले सहयोगी राष्ट्रहरूको भूमिकाबारे पनि विस्तारमा बताए। उनले भने, ‘हामी सबै तयार थियौं, तर सहयोगी देशहरूले रोक्न आग्रह गरेपछि हामीले “हेरौं” भन्यौं। उनीहरूले होर्मुजमा सम्झौता हुन सक्ने र त्यसपछि इरानको आणविक निरस्त्रीकरणको सम्झौता हुन सक्ने विश्वास गरेका छन्।’

मध्यपूर्वी देशका शीर्ष नेताहरूले आफूलाई आक्रमण रोक्न आग्रह गरेको उनको दाबी छ। अमेरिका र उसका सहयोगीहरू सबै आक्रमणका लागि पूर्ण रूपमा तयार भए पनि मित्रराष्ट्रहरूले यसलाई रोक्न आग्रह गरेपछि निर्णय पुनर्विचार गरिएको उनले जानकारी दिए।

ट्रम्पले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानसँग समेत सोधेको र उनीहरूले आक्रमणको सट्टा कूटनीतिक सम्झौतालाई प्राथमिकता दिएको बताए। उनका अनुसार सहयोगी देशहरूलाई यो युद्धले क्षेत्रभरि गम्भीर विपत्ति ल्याउन सक्ने चिन्ता थियो।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरान र अन्य मध्यपूर्वी देशहरूले सम्झौतालाई पूर्णता दिन केही समय मागेको भनेका छन्। उनले इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा खुलाउन र इरानको आणविक खतरा सधैंका लागि अन्त्य गर्न छिटोभन्दा छिटो सम्झौता गर्नुपर्नेमा जोड दिए।

यो निर्णयपछि सोमबारको प्रारम्भिक व्यापारमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब साढे ४ प्रतिशतले घटेर प्रति ब्यारेल ८३.९८ डलर पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि साढे ४ प्रतिशतभन्दा बढीले घटेर ८०.७४ डलरमा झरेको छ। विश्लेषकहरूले यो मूल्य गिरावटलाई ऊर्जा बजारका लागि ठूलो राहतको रूपमा हेरेका छन्।

फेब्रुअरीको अन्त्यबाट सुरु भएको द्वन्द्वका कारण इरान र ओमनको सिमानामा पर्ने होर्मुज जलमार्ग बन्द हुँदा विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यासको आपूर्ति गम्भीर रूपमा प्रभावित भएको थियो।

यसले गर्दा विश्वभर ऊर्जाको मूल्य आकासिएको थियो, जसको असर पेट्रोल, डिजेल, जेट इन्धनदेखि दैनिक उपभोग्य वस्तुहरूको ढुवानी मूल्यसम्म परेको थियो। यस अवस्थाले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको थियो।

उता, इरानका विदेशमन्त्री अब्बास अराघाचीले साउदी अरेबिया र पाकिस्तानका उच्च अधिकारीहरूसँग कूटनीतिक प्रयासबारे फोनमा विस्तृत छलफल गरेका छन्। आधिकारिक इरानी समाचार एजेन्सीका अनुसार तेहरान र ओमानबिच होर्मुज जलमार्गको व्यवस्थापन र भावी सञ्चालनलाई लिएर अन्तिम चरणमा वार्ता भइरहेको छ।

यद्यपि, इरानको अर्ध-आधिकारिक समाचार संस्थाले अमेरिकालाई सैन्य कारबाही रोक्न आग्रह गरेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै ट्रम्पको भनाइ नयाँ झूट मात्र भएको प्रतिक्रिया दिएको छ।

उता, इजरायलका ऊर्जा मन्त्री एली कोहेनले अमेरिका र इजरायलबिच नजिकको सुरक्षा र गुप्तचर समन्वय रहेको बताएका छन्। उनले सम्झौता भए पनि वा नभए पनि इरानले आफ्नो आणविक कार्यक्रम वा ब्यालिस्टिक मिसाइल उद्योगलाई अगाडि बढाउने कुनै पनि प्रयास गरेमा इजरायल चुपचाप नबसी कडा कारबाही गर्ने चेतावनी दिए।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई जुनमा भएको समझदारी पत्रमा प्रतिबद्ध रहन आग्रह गर्दै अन्तरिम सम्झौता तेहरानको भविष्यको विदेशी सम्बन्धको आधार बन्ने बताए।

ट्रम्पले सोमबार सुरु हुने भनिएको वार्ताको स्थान र सम्भावित सहभागीहरूको बारेमा विस्तृत विवरण बाहिर ल्याएका छैनन्। यसअघि पनि यस्तै प्रकारका कूटनीतिक पहलहरू अन्तिम समयमा असफल भएका इतिहास रहेकाले यो वार्ताले पूर्णता पाउँछ वा पाउँदैन भन्नेमा अझै शंका छ।

ट्रम्प प्रशासनले युद्धको आर्थिक प्रभाव र जनतामा देखिएको अलोकप्रियतालाई पनि ध्यानमा राखेको देखिन्छ। यदि यो वार्ता सफल भएमा मध्यपूर्वको लामो समयदेखिको तनाव कम हुने र विश्व अर्थतन्त्रलाई ठूलो राहत मिल्नेछ।

तर असफलताको स्थितिमा यस क्षेत्रमा इतिहासकै सबैभन्दा ठूलो सैन्य द्वन्द्व निम्तिने खतरा कायमै छ। एजेन्सीको सहयोगमा 

प्रकाशित: १८ श्रावण २०८३ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App