२४ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र यसको उत्कृष्ट प्रकार ‘जेटर’ उत्पादन गर्दै शताब्दीयौँ पुरानो बुनाइ परम्पराको संरक्षणमा योगदान पुर्याएको छ।

‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’मा दर्जनौँ महिला तथा पुरुष काठका तानमा ऊनका धागो बुन्दै आएका छन्।

सहकारीले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै नयाँ पुस्तालाई परम्परागत बुनाइ सीप हस्तान्तरण गर्दै आएको छ।

तिब्बती कालीगढ पासाङले सन् २००८ मा स्थापना गरेको उक्त सहकारीमा अपाङ्गता भएका व्यक्तिसहित एक सयभन्दा बढी स्थानीयले रोजगारी पाएका छन्।

सहकारी ‘जेटर’ उत्पादनमा विशेष दक्षता राख्छ। पुलुको उत्कृष्ट तथा मसिनो प्रकार मानिने जेटर भेडाको घाँटी र ढाडको नरम ऊनबाट तयार गरिन्छ।

सामान्य पुलुमा प्रयोग हुने ऊनको तुलनामा जेटरका लागि प्रयोग हुने मसिनो ऊनबाट धागो कात्न कठिन हुने पासाङले बताए।

उनका अनुसार जेटर सामान्य पुलुभन्दा हलुका, नरम र कोमल हुन्छ। मिङ वंशको शासनकालमा यसलाई तिब्बतबाट चिनियाँ शाही दरबारमा उपहार वा सम्मानस्वरूप पठाउने गरिन्थ्यो।

आफ्ना आमाबुबाबाट बुनाइ सीप सिकेकी पासाङका अनुसार आफूले यो सीप सिक्ने समयमा जेटर बुन्न जान्ने मानिसको सङ्ख्या १० भन्दा कम थियो।

उक्त परम्परागत सीपलाई चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिइएको र नयाँ पुस्ताले यसको संरक्षण गर्ने उनको विश्वास छ।

जेटर उत्पादनमा प्रयोग हुने ऊन समुद्री सतहबाट करिब तीन हजार ७०० मिटर उचाइमा रहेको शान्नान क्षेत्रमा पालिएका भेडाबाट प्राप्त गरिन्छ।

सहकारीको कार्यशालामा तिब्बतका सातौँ शताब्दीका राजा सोङत्सेन गम्पो र चिनियाँ राजकुमारी वेनचेङका मूर्ति पनि राखिएका छन्।

स्थानीय परम्पराअनुसार राजकुमारी वेनचेङले राजासँग विवाह गरेपछि तिब्बतमा बुनाइ प्रविधि भित्र्याएको र त्यसपछि यस कलाको विकास भएको मानिन्छ।

सहकारीको शोरुममा पुलु र जेटरबाट निर्मित स्कार्फ, सल, ज्याकेट, झोलालगायतका सामग्री बिक्रीका लागि राखिएका छन्। पासाङका अनुसार चीनका अन्य क्षेत्रबाट पनि ग्राहक आउने गरे पनि उत्पादनको मुख्य बजार तिब्बतमै रहेको छ।एपी

प्रकाशित: २४ श्रावण २०८३ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App