छिमेकी राष्ट्र भारतमा खाना पकाउने ग्यास (एलपीजी) को आपूर्तिमा ठूलो संकट उत्पन्न भएको छ।
यसका कारण मध्य प्रदेश, उत्तराखण्ड, महाराष्ट्र, पञ्जाब, राजस्थान, छत्तीसगढ, हरियाणा, कर्नाटक, तेलंगाना र आन्ध्र प्रदेशमा व्यावसायिक ग्यास आपूर्ति अस्थायी रूपमा निलम्बित गरिएको छ। ग्यासको सर्टेजको कारण यी राज्यहरूमा रेस्टुरेन्ट र होटलहरू बन्द हुन थालेका छन्।
पश्चिम एसिया (मध्य पूर्व) मा बढ्दो तनावका कारण भारतमा एलपीजी ढुवानीमा ढिलाइ हुँदा घरेलु बजारमा ग्यासको अभाव देखिएको हो।
मध्य प्रदेशमा सिलिन्डरको मूल्य भारु १,७७३ बाट बढाएर १,८८८ पुर्याइएको बताएका छन। जसको कारणले गर्दा धेरै होटलहरु बन्द हुने स्थितीमा पुगेको छ। राजस्थानमा पनि होटल तथा रेस्टुरेन्ट मालिकहरूले तेल कम्पनीहरूको निर्णयले होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका लागि ठूलो संकटमा परेको बताएका छन्। छत्तीसगढमा शैक्षिक संस्था र अस्पताल बाहेक अरू कसैलाई व्यावसायिक सिलिन्डर आपूर्ति नगर्न डिलरहरूले चेतावनी दिएका छन्।
केन्द्र सरकारले घरेलु ग्यास सिलिन्डर डेलिभरी भएको २५ दिन पछि रिफिल बुकिङ गर्ने नियमहरू परिवर्तन गरेको छ। उपभोक्ताहरूले अब २१ दिनको सट्टा डेलिभरी भएको २५ दिन पछि दोस्रो सिलिन्डर बुक गर्न सक्नेछन्।
ग्यास भण्डारण रोक्नको लागि, डेलिभरी एजेन्टहरूले ओटीपी वा बायोमेट्रिक प्रमाणीकरण अनिवार्य गरेका छन्। तेल मार्केटिंग कम्पनीहरूलाई व्यावसायिक सिलिन्डरहरूको तुलनामा घरेलु सिलिन्डरहरूको लागि प्रोपेन र ब्युटेन बढी प्रयोग गर्न निर्देशन दिइएको छ।
इन्डियन आयलका प्रमुख महाप्रबन्धक (एलपीजी) के.एम. ठाकुरले ग्राहकहरूले अग्रिम बुकिङ नगर्न आग्रह गरेका छन्। सरकारले संयुक्त राज्य अमेरिका जस्ता देशहरूबाट वैकल्पिक कार्गो सोर्स गर्ने विचार गरिरहेको बेला उनले नआत्तिन आग्रह गरेका हुन्।
यसैबीच, अन्तर्राष्ट्रिय स्तरमा जी ७ देशहरूले विश्व बजारमा ऊर्जा संकट कम गर्न आफ्नो आपतकालीन तेल भण्डारबाट आपूर्ति जारी गर्ने बारेमा छलफल गरिरहेका छन्। रूस र अल्जेरियाबाट पनि थप कच्चा तेल आउने अपेक्षा गरिएको छ। एजेन्सी
प्रकाशित: २६ फाल्गुन २०८२ १२:०४ मंगलबार

