कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २८७ पुगेको छ। घटनामा करिब ४०० जना अझै बेपत्ता रहेको कोलम्बियाली अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार भूकम्पबाट भएको मानवीय क्षतिको दुई तिहाइभन्दा बढी घटना काली र परेरा सहरमा भएको छ। घाइतेमध्ये आधाभन्दा बढी प्रमुख सहरी क्षेत्रमा रहेका छन्। परेरामा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।
सरकारी तथ्यांकअनुसार भूकम्पले पश्चिमी कोलम्बियाका दशौँ हजार घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। कतिपय संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् भने धेरै भवनमा गम्भीर क्षति पुगेको छ।
भूकम्पपछि हजारौँ परिवार विस्थापित भएका छन्। उनीहरू अस्थायी शिविर तथा अन्य सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्। ठूलो भौतिक क्षतिका कारण स्थानीय पूर्वाधारमा समेत थप दबाब परेको अधिकारीहरूले बताएका छन्।
भूकम्पपछि लगातार शक्तिशाली परकम्पहरू गइरहेकाले उद्धार तथा राहत कार्यमा थप चुनौती देखिएको छ।
प्रकाशित: ३० श्रावण २०८३ १५:२१ शनिबार





