१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कक्ररोच पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने

भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणलाई लिएर आन्दोलनरत कक्ररोच जनता पार्टीले शुक्रबार देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ।

सरकारले वार्ताका लागि पटक-पटक आह्वान गरे पनि सीजेपीले सरकारी अडान अस्वीकार गर्दै जन्तर-मन्तर वा कुनै तटस्थ ठाउँमा आउन सरकारसमक्ष सर्त राखेको छ।

केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहका अनुसार विगत २४ घण्टामा सीजेपीलाई भाजपा अध्यक्ष जेपी नड्डाको निवास वा कार्यालयमा वार्ताका लागि ४ पटक प्रस्ताव पठाइसकिएको छ। यद्यपि, सीजेपीले कसैको व्यक्तिगत घर वा कार्यालयमा वार्ता गर्न नसकिने बताएको छ।

यसअघि जुलाई २० मा आयोजित संसद मार्चका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। सो क्रममा दर्जनौँ प्रदर्शनकारी र १०० भन्दा बढी प्रहरी घाइते भएका थिए। प्रहरी दमनको विरोध र माग सम्बोधनका लागि दबाब दिन सीजेपीले शुक्रबार देशभर प्रदर्शन गर्न लागेको हो।

नीट प्रश्नपत्र लीक काण्डमा जवाफदेहिता तय गर्न र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै गत जुन २० देखि दिल्लीको जन्तर-मन्तरमा विद्यार्थीहरू निरन्तर आन्दोलनमा छन्।

सो आन्दोलनमा जुन २८ देखि सहभागी भएका प्रसिद्ध अभियन्ता सोनम वाङचुकको आमरण अनसनको २६ औँ दिन पुगेको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि वाङचुकको हाल गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचार भइरहेको छ।

सुरुवाती दिनमा लाठीचार्ज, हिरासत र बैरिकेडिङमार्फत आन्दोलन दबाउन खोजेको सरकार चौतर्फी दबाबपछि पछि हटेर वार्ताको प्रयासमा लागेको छ। विपक्षी दलहरू, विद्यार्थी सङ्गठन र सामाजिक कार्यकर्ताहरूको बलियो समर्थन पाएपछि यो प्रदर्शन राष्ट्रव्यापी जनआन्दोलनमा परिणत भएको छ।

प्रकाशित: ७ श्रावण २०८३ १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App