ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्केले शनिबार आफूलाई टाइफाइड भएको बताएका छन्। तर यो रोगले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्ने आन्दोलन नरोकिने स्पष्ट पारे।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै दिप्केले केही दिनदेखि अस्वस्थ रहेको र हाल उपचार भइरहेको जानकारी गराएका छन्। बिरामी हुँदाहुँदै पनि उनले देशभर विरोध प्रदर्शनलाई निरन्तरता दिएकामा समर्थकहरूप्रति आभार व्यक्त गरे।
'तपाईंलाई थाहा छ, म पछिल्ला केही दिनदेखि अस्वस्थ छु। रिपोर्ट आएको छ र मलाई टाइफाइड भएको छ,' उनले भने।
यसैबिच, दिल्ली प्रहरीले शुक्रबार रातिदेखि जन्तरमन्तरमा सुरक्षा कडा पारेको छ। सीजेपीका प्रवक्ता आशुतोष राँकाले शिक्षामन्त्री प्रधानले राजीनामा नदिएसम्म सरकारसँग वार्ताको औचित्य नहुने बताए। पेपर चुहावटको विरोधमा भइरहेको आन्दोलनबारे सरकार र सीजेपीबिच शनिबार (आज) दिउँसो तेस्रो चरणको वार्ता हुँदैछ।
'उपचार चलिरहेको छ। मलाई नियमित ड्रिप दिइँदैछ। तर म देशभर शान्तिपूर्ण विरोध गरिरहेका सबैलाई धन्यवाद दिन चाहन्छु,' दिप्केले भने।
नीट परीक्षामा भएको अनियमिततालाई लिएर सुरु भएको यो आन्दोलनले परीक्षा प्रणालीमा सुधार र मन्त्री प्रधानको राजीनामा माग गर्दै आएको छ। यसअघि सोनम वाङचुकले २६ दिनको अनशन तोडेका थिए। तर सीजेपीले मन्त्री प्रधानले राजीनामा नदिएसम्म जन्तरमन्तरमा विरोध जारी रहने जनाएको छ।
प्रकाशित: ९ श्रावण २०८३ ११:४१ शनिबार





