५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पपछि चीनले आपतकालीन प्रतिक्रिया थाल्यो

चीनको उत्तरी तिब्बत क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प गएपछि चीनले आपतकालीन प्रतिक्रिया सुरु गरेको छ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। भूकम्पपछि चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था र सम्भावित क्षतिको विवरण संकलन गरिरहेका छन्। चीनसहित भारत र म्यानमारमा पनि धक्का महसुस गरिएको थियो।

चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार नेपाली समयअनुसार राति ८:१८ मिनेट (चीनको स्थानीय समयअनुसार राति १०:३३ मिनेट) मा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत नाग्कु सहरको बाकेन काउन्टीमा रहेको थियो।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत चार हजार ८६४ मिटर उचाइमा रहेको छ। यो दुर्गम र उच्च पहाडी क्षेत्र हो।

यूएसजीएसले पनि तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। रोयटर्सका अनुसार यो जनवरी २०२४ पछि चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो। यसको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको छ।

यसअघि सन् २०१० मा चीनको छिङहाई प्रान्तको युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा कम्तीमा दुई हजार ६९८ जनाको मृत्यु भएको थियो भने करिब ३०० जना बेपत्ता भएका थिए। एजेन्सीको सहयोगमा

प्रकाशित: ५ कार्तिक २०८३ २२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App