अमेरिका र क्यानडाबिचको व्यापार विवाद थप चर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली नेताहरूलाई ‘लाइनमा आउन’ चेतावनी दिँदै त्यसो नगरे अहिलेको भन्दा ‘धेरै खराब’ परिणाम भोग्नुपर्ने बताएका थिए। त्यसको जवाफमा क्यानडाले अमेरिकाविरुद्ध प्रतिशोधात्मक कर घोषणा गर्ने तयारी गरेको छ।
अमेरिकाले यसअघि नै करिब २० अर्ब डलर मूल्यका क्यानडाली सामानमा ५० प्रतिशत कर लगाइसकेको छ। ट्रम्पले क्यानडाली सवारीसाधन, अटो पार्ट्स र स्टिलमा थप ५० प्रतिशत कर लगाउने धम्कीसमेत दिएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी माग मान्न अस्वीकार गरेका छन्। अमेरिकाले अटो, स्टिल र आल्मुनियमजस्ता क्यानडाका प्रमुख उद्योगलाई कमजोर पार्न खोजेको उनको आरोप छ।
‘वार्ताको टेबलमा क्यानडा संयुक्त राज्य अमेरिकाको सहायक कम्पनी हो भन्ने दृष्टिकोण हामी स्वीकार गर्ने कुरा होइन,’ कार्नीले भने।
कार्नीले अमेरिकाको करको जवाफमा सबै सामानमा समान दरले कर लगाउनेभन्दा क्यानडाली कामदार र व्यवसायलाई जोगाउने गरी लक्षित प्रतिशोधात्मक कदम चालिने बताएका छन्। क्यानडाले मंगलबार नयाँ कर घोषणा गर्ने अपेक्षा गरिएको छ।
ओन्टारियोका प्रिमियर डग फोर्डले पनि ट्रम्पको दबाबसामु क्यानडा नझुक्ने बताएका छन्। विवाद थप चर्किए अमेरिकातर्फ जाने बिजुली र महत्वपूर्ण खनिजको आपूर्ति रोक्नेसम्मका कदम चाल्न सकिने उनले चेतावनी दिएका छन्।
‘सबै कुरा टेबलमा छ। म जे पनि गर्छु,’ फोर्डले भने।
अमेरिका र क्यानडा व्यापार विवादमा अटो उद्योग सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ। ओन्टारियोका कारखाना र आपूर्तिकर्ता अमेरिकी उद्योगसँग गहिरोसँग जोडिएका छन्। उत्पादनका क्रममा पार्ट्स धेरैपटक क्यानडा-अमेरिका सीमापार जाने गरेका छन्।
फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसजस्ता कम्पनीका ठूला कारखाना ओन्टारियोमा छन्। त्यसैले नयाँ करले दुवै देशका उद्योग, आपूर्ति शृंखला र कामदारमा ठूलो असर पार्न सक्ने चिन्ता बढेको छ।
क्यानडा र अमेरिका अटो, ऊर्जा, कृषि तथा उत्पादन क्षेत्रमा गहिरोसँग जोडिएका छन्। त्यसैले पछिल्लो तनावले लामो व्यापार युद्धको रूप लिए दुवै देशका व्यवसाय र उपभोक्तामा थप आर्थिक दबाब पर्न सक्ने देखिएको छ। एजेन्सी
प्रकाशित: ९ भाद्र २०८३ ११:१६ मंगलबार





