भारतका चर्चित अर्बपति शिक्षक एवं एडटेक कम्पनी 'बाइजुज' का संस्थापक बाइजु रवीन्द्रनलाई सिंगापुरको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ। अदालतको अवहेलनाको आरोपमा उनलाई उक्त सजाय सुनाइएको हो।
सिंगापुरको अदालतले रवीन्द्रनले अप्रिल २०२४ देखि फ्रिज गरिएको आफ्नो सम्पत्तिसँग सम्बन्धित धेरै आदेशहरू बारम्बार उल्लङ्घन गरेको ठहर गरेको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार अदालतले उनलाई तत्काल अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्न, कानुनी खर्चबापत ९० हजार सिंगापुर डलर (करिब ७० हजार ५०० अमेरिकी डलर) जरिवाना तिर्न र बियर इन्भेस्टको प्राइभेट लिमिटेडमा आफ्नो कानुनी स्वामित्व प्रमाणित गर्ने कागजातहरू पेश गर्न आदेश दिएको छ।
रवीन्द्रनविरुद्ध कतार लगानी प्राधिकरणको एक सहायक कम्पनीले सिंगापुरमा मुद्दा दायर गरेको हो। बाइजुजले कर्मचारी कटौती गरिरहेको कठिन समयमा कतारको सार्वभौम सम्पत्ति कोषले यसमा ठूलो लगानी गरेको थियो। यसबाहेक रवीन्द्रनले अमेरिकामा १.२ अर्ब डलरको ठूलो ऋणसँग सम्बन्धित कानुनी लडाइँ र विभिन्न विदेशी लगानीकर्ताहरूको मुद्दा पनि झेलिरहेका छन्।
थिंक एण्ड लर्न प्राइभेट लिमिटेड (बाइजुज) मार्फत भारतीय स्टार्टअप क्षेत्रमा इतिहास रचेका रवीन्द्रनको व्यावसायिक ओरालो यात्रा निकै नाटकीय छ। सन् २०२२ मा २२ अर्ब डलर मूल्याङ्कन गरिएको बाइजुजको भ्यालु घटेर हाल एक अर्ब डलरमा खुम्चिएको छ।
फोर्ब्सको बिलियनेयर इन्डेक्स अनुसार अप्रिल २०२३ सम्म २.१ बिलियन डलर सम्पत्ति भएका रवीन्द्रनलाई २०२४ मा फोर्ब्सले आफ्नो सूचीबाटै हटाएको थियो। शेयरधारकहरूले उनलाई सीईओ पदबाट समेत हटाइसकेका छन् भने हाल उनको कुल सम्पत्ति 'शून्य' रहेको छ।
जेल सजायको फैसलापछि बाइजु रवीन्द्रनले एक विज्ञप्ति जारी गर्दै गहिरो निराशा व्यक्त गरेका छन्। उनले कतार लगानी प्राधिकरण र अन्य ऋणदाताहरूसँग सम्झौता वार्ता अन्तिम चरणमा पुगेको दाबी गर्दै कतारले कानुनी मामिलालाई यस स्तरमा बढाउनु अनावश्यक दबाब रणनीति मात्र भएको आरोप लगाएका छन्।
आफूले टकरावको सट्टा समाधान चाहेकाले हालैका महिनामा अदालती कारबाहीको सक्रिय विरोध नगरेको र आफूहरूबाट कुनै गलत काम नभएको उनको भनाइ छ। उनी हाल सिंगापुरमा छन् वा अन्यत्र भन्ने कुरा भने स्पष्ट भइसकेको छैन। एजेन्सीको सहयोगमा
प्रकाशित: १३ जेष्ठ २०८३ १३:४९ बुधबार





-600x400.jpg)