पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन्। ग्रुबुन्डेन क्यान्टनको सुस्क र जेर्नेज नगरपालिकाबीच बिहीबार साँझ सुरक्षा अवरोधमा ठोक्किएर कोच पल्टिँदै बाँधबाट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटना स्थानीय समयअनुसार साँझ ४ः४५ बजे भएको हो। क्यान्टोनल प्रहरीले मृतक र घाइतेको यकिन सङ्ख्या तत्काल सार्वजनिक नगरी परिवारलाई जानकारी गराउने प्रक्रिया भइरहेको जनाएको छ। घटनास्थलमा उद्धारकर्मी तथा हेलिकप्टर परिचालन गरिएको थियो।
डच फेडेरेसन अफ ट्राभल एजेन्सीका अनुसार दुर्घटनामा परेको कोच टुर कम्पनी ओडको हो। नेदरल्यान्ड्सबाट सोमबार प्रस्थान गरेको उक्त कोच अस्ट्रियाबाट स्विट्जरल्यान्डको एकदिने यात्रामा रहेका बेला दुर्घटनामा परेको हो।
टुर कम्पनी ओडले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति र उनीहरूका परिवारलाई सहयोग गर्न स्थानीय अधिकारीसँग समन्वय भइरहेको जनाएको छ। स्विस राष्ट्रपति गाइ पारमेलिनले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
दुर्घटना भएको जेर्नेज स्विस राष्ट्रिय निकुञ्जको प्रवेशविन्दुमध्ये एक हो। उक्त क्षेत्र एन्गाडिन उपत्यकामा फैलिएको एक सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलको विशाल अल्पाइन संरक्षित क्षेत्रका रूपमा परिचित छ।
प्रकाशित: २६ भाद्र २०८३ १०:४२ शुक्रबार





