पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८ हजार ४७ मिटर) मा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएका अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य शनिबार (आज) पनि जारी रहने भएको छ।
प्रतिकूल मौसमका कारण शुक्रबार साँझ स्थगित भएको खोजी तथा उद्धार कार्य मौसममा सुधार आएसँगै आज बिहानैबाट पुनः सुचारु हुने अधिकारीहरूले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय आरोहण अभियानका क्रममा बिहीबार स्थानीय समय अनुसार बिहान करिब ९ः२०-९ः३० बजे करिब ६ हजार ६०० मिटर उचाइमा गएको उक्त हिमपहिरोमा परी प्रख्यात नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। तीव्र हिमपात र बाक्लो तुवाँलोका कारण हेलिकप्टर उडान र जमिनमा हुने खोज कार्य प्रभावित भए पनि अधिकारीहरूले बाँकी आरोहीहरूको खोजी प्रक्रिया अगाडि बढाउने बताएका हुन्।
जानकारी अनुसार खोजी अभियानका क्रममा चार जना आरोहीको शव फेला परेको छ भने तीन जनाको मात्रै औपचारिक पहिचान भएको छ। गिलगिट-बाल्टिस्तान सरकारले दिएको जानकारी अनुसार तीन जनाको शव शुक्रबार नै पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत ब्रोड पिक बेस क्याम्पबाट स्कार्दुस्थित सीएमएच अस्पताल ल्याइएको छ। फेला परेका शवहरूमा नेपालका पुरबहादुर गुरुङ (युक्त), ओमानकी पहिलो सगरमाथा आरोही नादिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकाकी पर्वतारोही म्यालोरी गेइस (सारा म्यालोरी गेइस, टेक्सासकी ३९ वर्षीया) रहेका छन्। चौथो शवको बारेमा औपचारिक पहिचान हुन बाँकी रहेको छ। उद्धार टोलीले ड्रोन फुटेज र जीपीएस संकेतहरूको सहायताले क्षेत्रको निगरानी गरिरहेको छ।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार घटनाअघि धेरै अभियान टोलीले संयुक्त रूपमा शिखर पुस (चुचुरो तर्फको यात्रा) सुरु गरेका थिए। १० सदस्यीय उक्त टोलीमा नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए। पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइस पनि बेपत्ता भएका थिए।
बेपत्ता आरोहीहरूबाट प्राप्त अन्तिम जीपीएस स्थानहरूले हिमपहिरोले समूहलाई एक हजार मिटरभन्दा धेरै तल बगाएको देखाएको छ। उनीहरू अप्ठ्यारो भूभागमा फसेको संकेत गरेको एसीपीका महासचिव अयाज शिग्रीले जानकारी गराए। चर्चित पर्वतारोही सरबाज खानको नेतृत्वमा रहेको नागरिक उद्धार टोली र पाकिस्तानी सेनाको विशेष उड्डयन टोलीले खोजी कार्यमा सघाएका छन्।
यस दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै गिलगिट-बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसैनले सबै सम्बन्धित विभागहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्। उनले आरोहीहरूको सुरक्षा र उद्धारका लागि उपलब्ध सम्पूर्ण सरकारी स्रोतसाधन र सैन्य सहयोग परिचालन गर्न आदेश दिएका हुन्।
त्यसैगरी, पर्यटनमन्त्री नैकनाम करीमले पनि उद्धार कार्यलाई थप तीव्रता दिन र क्षेत्रमा खटिरहेका टोलीलाई आवश्यक पर्ने सबै किसिमको लजिस्टिक सहयोग उपलब्ध गराउने बताएका छन्। खराब मौसमका कारण शुक्रबार साँझ रोकिएको उद्धार तथा खोजी कार्य मौसममा सुधार आएसँगै शनिबार बिहानैबाट पुनः सुचारु हुने जनाइएको छ।
प्रकाशित: १६ श्रावण २०८३ ०८:१५ शनिबार





