१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोपका सात विमानमा बमको धम्की, उडान डाइभर्ट

युरोपका विभिन्न देशमा बिहीबार कम्तीमा सातवटा विमानमा बम विस्फोट गराउने धम्की प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको छ।

धम्कीका कारण विभिन्न उडान डाइभर्ट गरिनुका साथै केही विमानलाई लडाकु जेटको निगरानीमा अवतरण गराइएको थियो। यद्यपि, विमानहरूको जाँच गर्दा कुनै पनि विस्फोटक पदार्थ फेला परेको छैन।

फिनल्यान्ड, इटाली, फ्रान्स, चेक गणतन्त्र र बुल्गेरियासहितका देशका विमानहरूमा धम्की प्राप्त भएको थियो। यस घटनामा संलग्न कुनै संगठन वा व्यक्तिको पहिचान भने हुन सकेको छैन।

यसअघि दुई दिन अगाडि पनि युरोपका करिब १० वटा विमानमा बम विस्फोट गराउने धम्की आएको थियो। ती सबै धम्की झूटा साबित भएका थिए।

इटाली जाने एयर लिंगसको विमान फ्रान्समा अवतरण

आयरल्यान्डबाट इटाली जाँदै गरेको एयर लिंगसको विमानमा बमको धम्की आएपछि फ्रान्सतर्फ डाइभर्ट गरिएको थियो।

विमानको सुरक्षाका लागि फ्रान्सेली वायुसेनाले लडाकु विमान परिचालन गरेको थियो।

विमान नोर्मन्डीस्थित एभ्रु सैन्य विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो। फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयका अनुसार विमानमा १५१ यात्रु र छ जना चालक दलका सदस्य थिए।

सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि बम निष्क्रिय पार्ने विशेषज्ञ टोलीले विमानको जाँच सुरु गरेको थियो।

फिनएयरको विमानमा पनि धम्की

हेलसिन्कीबाट रोम जाँदै गरेको फिनएयरको विमानमा बमको धम्की प्राप्त भएपछि इटालियन लडाकु विमानहरूले निगरानी गर्दै रोम विमानस्थलसम्म पुर्‍याएका थिए। विमान अवतरण गरेपछि बम डिस्पोजल टोलीले विस्तृत जाँच गरेको थियो।

त्यस्तै, हेलसिन्कीबाट भियना जाँदै गरेको जेटटाइमको विमानमा पनि धम्की प्राप्त भएपछि अस्ट्रियाको राजधानीतर्फ डाइभर्ट गरिएको थियो। विमान भियनामा सुरक्षित अवतरण भएको फिनएयरले जनाएको थियो।

मिलानबाट वार्सा जाँदै गरेको विज एयरको विमानमा पनि बमको धम्की आएपछि मार्ग परिवर्तन गरी भियनामा अवतरण गराइएको थियो।

बुल्गेरियामा तीन रायन एयरका विमानमा धम्की

बुल्गेरियाको राजधानी सोफिया जाने तीनवटा रायनएयरका विमानमा बमको धम्की प्राप्त भएको थियो।

तीमध्ये दुईवटा विमान डेनमार्कको कोपेनहेगन र स्पेनको म्याड्रिडबाट आएका थिए। दुवै विमान सोफिया विमानस्थलमा सुरक्षित अवतरण भएका थिए।

लन्डनबाट सोफिया आउँदै गरेको अर्को विमान भने डाइभर्ट गरी बुल्गेरियाको दोस्रो ठूलो सहर प्लोभडिभमा अवतरण गराइएको थियो।

प्रागका उडानमा पनि सुरक्षा सतर्कता

चेक गणतन्त्रको राजधानी प्रागका लागि उडान भरेका चारवटा विमानमा पनि बमको धम्की प्राप्त भएको थियो। धम्कीपछि विमानस्थलका अधिकारीहरूले आपतकालीन अवतरणका लागि तयारी गरेका थिए।

युरोपका विभिन्न विमानमा लगातार बमको धम्की प्राप्त भएपछि सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा लिएका छन्।  

हालसम्म कुनै पनि विमानमा विस्फोटक पदार्थ फेला नपरे पनि धम्कीको स्रोत र उद्देश्यबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App