ब्राजिलमा राष्ट्रपति चुनावमा पराजित भएपछि सिनेटर फ्लाभियो बोल्सोनारोले चुनावी नतिजा रद्द गराउन कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।
सोमबार समर्थकहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको हारपछि दोस्रो चरणको चुनावविरुद्ध निवेदन दिने बताएका हुन्।
निर्वाचन अदालतले लुलालाई विजयी घोषणा गरेलगत्तै फ्लाभियोले सर्वोच्च अदालतको मतदान समय बढाउने निर्णय गरेको भन्दै आलोचना गरेका थिए। यातायात अवरोध र खराब मौसमका कारण परेको निवेदनपछि सर्वोच्च अदालतका न्यायाधीश क्रिस्टियानो जानिनले ब्राजिलभर मतदानको समय दुई घण्टा (स्थानीय समयअनुसार साँझ ७ बजे)सम्म बढाउने निर्णय गरेका थिए।
फ्लाभियोले जानिनको निर्णयमाथि प्रश्न उठाउँदै उनी यसअघि लुलाका व्यक्तिगत वकिल रहेको विषय पनि उल्लेख गरेका छन्। उनले भने, ‘हामी हाम्रो कानुनी टोली परिचालन गरेर चुनाव रद्द गराउन निवेदन दिनेछौं। सर्वोच्च अदालतमा रहेका लुलाका साथीहरूले फेरि पनि खेलका नियम मनपरी परिवर्तन गरेको म स्वीकार गर्दिनँ।’
निर्वाचन परिणामअनुसार लुलाले ५१.७६ प्रतिशत वैध मत प्राप्त गरेका छन् भने फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन्। लुलाले ६ करोडभन्दा बढी मत प्राप्त गर्दै चौथो पटक राष्ट्रपति बन्ने अवसर सुरक्षित गरेका हुन्।
अक्टोबर ४ मा भएको पहिलो चरणको चुनावमा फ्लाभियोले ४७ प्रतिशत र लुलाले ४५ प्रतिशत मत पाएका थिए। तर दोस्रो चरणमा लुलाले अग्रता उल्टाउँदै जित हासिल गरे। यससँगै पहिलो चरणमा पछि परेर पनि दोस्रो चरणमा जित्ने उनी सन् १९८९ मा दुई चरणको निर्वाचन प्रणाली सुरु भएयताका पहिलो राष्ट्रपति उम्मेदवार बनेका छन्।
फ्लाभियोको कानुनी चुनौतीले ब्राजिलको राजनीतिक विवाद थप लम्बिन सक्ने देखिएको छ। निर्वाचन अधिकारीहरू अन्तिम नतिजा प्रमाणित गर्ने तयारीमा रहेका बेला चुनाव रद्द गर्ने उनको मागमाथि सम्बन्धित निकायले के निर्णय गर्छन् भन्ने स्पष्ट भइसकेको छैन।
प्रकाशित: ९ कार्तिक २०८३ ०९:२८ सोमबार





