बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा भएको उपचुनावको नतिजा सार्वजनिक भएको छ।
नतिजा अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले दुई सिटमा हार बेहोरेको छ। उसले एक सिटमा मात्र जित निकालेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहारको नितिन नवीनको बाँकीपुर निर्वाचन क्षेत्रमा प्रशान्त किशोरले जितेका छन्।
जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोर १९ हजार ३२४ मतान्तरले जितेका हुन्। प्रशान्तले ६४ हजार १५१ मत पाउँदा भाजपा उम्मेदवार नीरज कुमारले ४४ हजार ८२७ मत पाए। यो सिट भाजपाका राष्ट्रिय अध्यक्ष नवीनको परम्परागत सिट हो। उनी यहाँबाट लगातार पाँच कार्यकाल विधायक भएका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि यो सिटमा उपचुनाव भएको हो। यो हारसँगै बाँकीपुरमा ३० वर्ष पुरानो इतिहास परिवर्तन भएको छ।
जितपछि प्रशान्त किशोरले भने, ‘गुजरातलाई मात्र किन फाइदा हुन्छ ? बिहारीहरू मजदुर हुन जन्मेका होइनन्; राज्य राम्रो मुख्यमन्त्रीको हकदार छ।’ उनले थप भने, ‘मेरो विधायक बन्नुले रातारात बाँकीपुर बेंगलुरुमा परिणत हुने छैन, तर तपाईंले अर्को दुई देखि तीन महिनामा यहाँ केही सुधार देख्नुहुनेछ। बाँकीपुरका जनताले भाजपा नेतृत्वलाई स्पष्ट सन्देश पठाएका छन्। कृपया बिहारको मुख्यमन्त्रीको रूपमा एक असल व्यक्ति नियुक्त गर्नुहोस्।’
यसैबिच, मध्य प्रदेशको दतियामा कांग्रेस उम्मेदवार घनश्याम सिंह ६ हजार १६ मतान्तरले विजयी भए। भाजपाले पूर्वगृहमन्त्री नरोत्तम मिश्राको ठाउँमा आशुतोष तिवारीलाई उम्मेदवार बनाएको थियो। तर, आशुतोष नरोत्तम मिश्राको मतदान केन्द्रमा समेत जित्न असफल भए। सिंहले ६६ हजार ७५७ मत पाउँदा भाजपा उम्मेदवारले ६० हजार ७४१ मत पाएका छन्। ७२ वर्षीय सिंह यसअघि दुई पटक विधायक भइसकेका थिए। पूर्वगृहमन्त्री मिश्राको प्रभाव क्षेत्र मानिने दतियामा भाजपाको यो हारले भोपालदेखि दिल्लीसम्मका नेतालाई सोच्न बाध्य बनाएको छ।
उता, गुजरातको मञ्जलपुर सिटमा भने भाजपाका सतीश पटेल ३० हजार ६३० को मतान्तरले विजयी भए। उनले कांग्रेस उम्मेदवार भिखाभाई रबारीलाई पराजित गरे। भाजपा विधायक योगेश पटेलको निधन भएपछि यो सिटमा चुनाव भएको हो। यो यस विधानसभा क्षेत्रमा भाजपाको लगातार नवौं जित हो। यद्यपि, २०२२ को चुनावमा एक लाख मतान्तरले जितेको भाजपाको मतान्तर यस पटक घटेर ३० हजारमा झरेको छ। तीनवटै सिटको लागि गत बिहीबार मतदान भएको थियो।
प्रकाशित: १८ श्रावण २०८३ १८:०६ सोमबार





