१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उच्च निगरानीमा थियो विष्फोट भएको भुटानको हिमताल

भुटानको उत्तरी गासा जिल्लास्थित सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले प्रसिद्ध गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ । बाढीले पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुर्‍याएपछि उक्त सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

डेली भुटानले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार मोछु नदी किनारमा रहेको तातोपानी परिसर बाढीले बगाएको हो । घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन भइरहेको अधिकारीहरूले जनाएका छन् ।

बाढीले पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्डसमेत पूर्ण रूपमा बगाएको छ । सडक क्षतिग्रस्त भएपछि अर्को सूचना जारी नभएसम्मका लागि यातायात बन्द गरिएको छ । यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए प्रस्थानअघि वैकल्पिक मार्ग तथा यातायातको व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ ।

गत बिहीबार, अक्टोबर २९ को साँझ भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा हिमताल विस्फोट भएको बताइएको छ । डेली भुटानका अनुसार बिहीबार राति करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो ।

बाढीले दुर्गम उच्च पहाडी बस्ती लायासम्म पुग्ने सडकको एक खण्डमा क्षति पुर्‍याएपछि उक्त मार्ग पनि बन्द गरिएको थियो । सम्भावित जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो भने स्थानीयलाई सचेत गराउन चेतावनीका साइरनसमेत बजाइएको थियो । अक्टोबर ३० को बिहानसम्म मानवीय क्षति वा कोही घाइते भएको विवरण प्राप्त नभएको जनाइएको छ ।

तालबाट पानी बाहिरिनुको वास्तविक कारण, बाहिरिएको पानीको परिमाण र बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ । अधिकारीहरूले तालको अवस्था र तल्लो तटीय क्षेत्रमा परेको प्रभावबारे निरन्तर अनुगमन तथा मूल्यांकन गरिरहेका छन् ।

के हो हिमताल विस्फोट ?

हिमतालमा जम्मा भएको पानीलाई रोक्ने प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा तालको पानी एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट भनिन्छ । यस्तो घटनापछि उत्पन्न बाढी तीव्र गतिमा पहाडी खोँच हुँदै तलतिर बग्न सक्छ । पानीसँगै हिलो, ढुङ्गा र अन्य अवशेषसमेत बगाएर लैजाने भएकाले यसले सडक, पुल, बस्ती तथा नदी किनारका संरचनामा ठूलो क्षति पुर्‍याउन सक्छ ।

सिन्ताफु तालबाट निस्कने पानी मोछु नदीमा मिसिन्छ । उक्त नदी गासा र पुनाखा हुँदै दक्षिणतर्फ बग्छ । पुनाखामा मोछु र फोछु नदी एकआपसमा मिसिएर पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ ।

यस कारण सिन्ताफु तालमा भएको घटनाले भुटानको तल्लो तटीय क्षेत्रसँगै भारतका केही क्षेत्रमा पनि बाढीको जोखिम बढाएको छ ।

जोखिमयुक्त हिमतालको सूचीमा सिन्ताफु

डेली भुटानका अनुसार सिन्ताफु ताल मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली हिमताल हो । भुटानको आधिकारिक सूचीमा यसलाई सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एकका रूपमा समावेश गरिएको छ ।

यद्यपि, जोखिमयुक्त सूचीमा समावेश हुनुको अर्थ तालमा हिमताल विस्फोट निश्चित छ भन्ने होइन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नियमित निगरानी र पूर्वतयारी आवश्यक रहेको यसले संकेत गर्छ ।

भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुन महिनासम्म सिन्ताफु तालको अध्ययन गरेका थिए । त्यस क्रममा मुख्य तथा माथिल्लो तालको मापन, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको परीक्षण र तालमा पानी आपूर्ति गर्ने हिमनदीको अवस्थाबारे अध्ययन गरिएको थियो । सम्भावित हिमतालजन्य बाढीको जोखिम न्यूनीकरण तथा निगरानी प्रभावकारी बनाउन त्यस क्षेत्रमा उपकरणसमेत जडान गरिएको जनाइएको छ ।

भारतमा पनि बाढीको चेतावनी

सिन्ताफु तालमा हिमताल विस्फोट भएको खबर सार्वजनिक भएपछि छिमेकी भारतमा पनि सावधानीका उपाय अपनाइएको छ । विशेषगरी पश्चिम बंगालको उत्तर बंगाल क्षेत्र तथा आसाममा संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

यसैबीच, भारतको केन्द्रीय जल आयोग (सीडब्लूसी) ले सिन्ताफु तालमा भएको हिमताल विस्फोटपछि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बंगाल र आसामका लागि विशेष चेतावनी जारी गरेको छ ।

आयोगले पश्चिम बंगालको अलिपुरद्वार र आसामको धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिएको हो । दुवै राज्यलाई सतर्क अवस्थामा राख्दै स्थानीय प्रशासनलाई संकोश नदीको जलस्तर र बहाव नजिकबाट निगरानी गर्न तथा आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ ।

तालबाट बगेको पानीको परिमाण र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे थप विवरण आउन बाँकी रहेकाले सम्बन्धित निकायले निगरानीलाई तीव्र बनाएका छन् ।

प्रकाशित: १३ कार्तिक २०८३ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App