बाङ्लादेशमा सरकारी जग्गा परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ। राजधानी ढाकाको एक विशेष अदालतले हसिनाकी भतिजी तथा ब्रिटिश सांसद ट्युलिप सिद्दिकलाई पनि दुई वर्षको सजाय सुनाएको हो।
विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्रीको रूपमा आफ्नो शक्तिको दुरुपयोग गरेको बताए। सिद्दिकले आफ्नी आमा र दुई दाजुभाइलाई जग्गा दिलाउन काकीलाई भ्रष्टाचारपूर्ण प्रभाव पारेको ठहर अदालतले गरेको छ। सिद्दिककी आमा शेख रेहानालाई सात वर्षको जेल सजाय दिइएको छ, जसलाई मुद्दाको मुख्य अभियुक्त मानिएको छ।
तीनै जनालाई प्रतिव्यक्ति करिब एक लाख टाका (८१३ डलर) जरिवाना पनि गरिएको छ। रेहानाको जग्गा बाँडफाँट रद्द गर्ने आदेश दिइएको छ। अन्य १४ जना अभियुक्त छन्। भ्रष्टाचार निगरानी आयोगका अभियोजक खान मोहम्मद मैनुल हसनले भने, ‘हामीले आजीवन कारावासको अपेक्षा गरेका थियौं। तर त्यो भएन। हामी हाम्रो अर्को कार्ययोजनाको लागि आयोगसँग परामर्श गर्नेछौं।’
अभियोजन पक्षले सिद्दिकलाई बाङ्लादेशी नागरिक ठानेर मुद्दा चलाइएको बताएको छ। तर सिद्दिकले यो दाबी अस्वीकार गर्दै आफू ब्रिटिश नागरिक भएको बताइन्। उनले आरोपहरूलाई अस्वीकार गर्दै मुद्दालाई ‘मनगढन्ते आरोपहरूमा आधारित र स्पष्ट राजनीतिक प्रतिशोधबाट प्रेरित’ एक प्रहसन भएको भनेकी छिन्। जनवरीमा सिद्दिकले काकीसँगको सम्बन्धको कारण दबाबमा प्रधानमन्त्री केयर स्टारमरको मन्त्रिपरिषदबाट राजीनामा दिनु परेको थियो। उनले गलत काम नगरेको भनेर सफाइ पाए पनि मुद्दाले ‘सरकारको कामबाट ध्यान भंग गर्ने’ भएकाले बिदा भएकी थिइन्।
हसिनालाई गत वर्ष १५ वर्षे शासनको अन्त्य गर्ने जनविद्रोहमा दमन गरेको मानवता विरुद्धको अपराधमा गत नोभेम्बरमा नै मृत्युदण्ड दिइएको थियो। हाल उनी भारतमा निर्वासनमा छिन्। मुद्दाहरू उनको अनुपस्थितिमा चलेका थिए। हसिना र अन्यले आफ्ना पक्षमा वकिल नै नराख्ने निर्णय गरेका थिए। रेहाना देश बाहिर बस्छिन्, सिद्दिकका दुई दाजुभाइ पनि विदेशमा छन्। उनीहरूमाथि गत वर्षको विद्रोहमा जोडिएका आरोप छन्।
नोभेम्बर २७ मा एउटै टाउनशिप परियोजनासँग जोडिएका तीन मुद्दामा छुट्टै अदालतले हसिनालाई २१ वर्षको जेल सजाय सुनाएको थियो। हसिनाका छोरा (सजीब वेद) र छोरी (साइमा वाजेद) लाई पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको थियो। बाङ्लादेशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले आउँदो फेब्रुअरीमा चुनाव गर्ने घोषणा गरेको छ। एजेन्सी
प्रकाशित: १५ मंसिर २०८२ १४:४५ सोमबार





-1200x560-600x400.jpg)