१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘जबसम्म आशाको किरण रहन्छ, हामी कहिल्यै हार मान्ने छैनौँ’

चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्यारोङ काउन्टीमा गएको पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी छ। 

उद्धारमा खटिएका चिनियाँ जनमुक्ति सेना (पीएलए) र जनसशस्त्र प्रहरी बलले आशा रहुन्जेल खोजी अभियान नरोकिने बताएका छन्। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले शुक्रबार बिहीबारसम्मको विवरण सार्वजनिक गर्दै पहिरोपछि उद्धार तथा राहतका लागि ७२६ जनशक्ति परिचालन गरिएको बताएका हुन्।

‘जबसम्म आशाको किरण रहन्छ, हामी कहिल्यै हार मान्ने छैनौँ,’ जियाङले भने। उद्धारका लागि २४ वटा इन्जिनियरिङ सवारी साधन र ६० सेट विशेष उपकरण प्रयोग गरिएको उनले बताए। यस्तै, उद्धार तथा राहतका क्रममा २० भन्दा बढी पटक हेलिकप्टर र ड्रोन उडाइएको छ।

जियाङका अनुसार सेनाले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, सडकबाट पहिरोको भग्नावशेष हटाउने, सामग्री ढुवानी तथा वितरणका साथै चिकित्सा र महामारी रोकथामसम्बन्धी काम गरिरहेको छ।

उद्धार टोलीले हालसम्म १३ हजार ९०० घनमिटरभन्दा बढी पहिरोको भग्नावशेष हटाएको छ। यस्तै, ७७ जना उद्धारकर्ता तथा १.२३ टन उपकरण र आवश्यक सामग्रीलाई हवाई मार्गबाट मुख्य प्रकोप प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

पहिरो प्रभावित क्षेत्रका ९०० भन्दा बढी स्थानीय बासिन्दा तथा उद्धारकर्मीलाई चिकित्सा सेवा पनि दिइएको जियाङले बताए।

चीनमा अहिलेसम्म २१ जनाको शव फेला परेको छ भने ५४१ जना बेपत्ता रहेका छन्। घटनापछि पीएलए र जनसशस्त्र प्रहरी बलले तत्काल आपत्कालीन उद्धार संयन्त्र सक्रिय पार्दै स्थानीय उद्धार तथा राहत कार्यमा सहयोग गरिरहेका छन्।

जियाङले सशस्त्र बलका टोली अझै उद्धारको अग्रपंक्तिमा रहेर बेपत्ता मानिसको खोजी गरिरहेको बताए। सम्भव भएसम्म मानवीय क्षति कम गर्न उद्धार टोली समयसँग प्रतिस्पर्धा गरिरहेको उनको भनाइ छ। एजेन्सी

प्रकाशित: १९ भाद्र २०८३ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App