९ मंसिर २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको अर्थतन्त्र ओरालो लाग्दै, व्यवसायीको मनोबल खस्कियो

अस्ट्रेलियामा आर्थिक मन्दी (रिसेसन) आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ। समूहका अनुसार मुलुकमा आर्थिक मन्दीको जोखिम करिब ५० प्रतिशत पुगेको छ।

म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अस्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको बताएका छन्। उनका अनुसार व्यवसायीहरूको घट्दो मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तताले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने जोखिम बढाएको छ।

डेभरेलले अस्ट्रेलियाका विभिन्न व्यावसायिक सर्वेक्षणले आर्थिक गतिविधिमा उल्लेखनीय सुस्तता आएको संकेत गरेको बताएका छन्। म्याक्वेरीको आन्तरिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी अनुमानले चौथो त्रैमासिकमा अर्थतन्त्र संकुचित हुने सम्भावना कम देखाए पनि त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उनको भनाइ छ।

म्याक्वेरीका अनुसार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भइरहेको वृद्धिका कारण घरपरिवारहरू एकैपटक आर्थिक दबाबमा परेका छन्। यी परिस्थितिले अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढाएको समूहको विश्लेषण छ।

यसअघि एचएसबीसीका अस्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिक अवधिमा अस्ट्रेलियाको आर्थिक वृद्धि ठप्प हुन सक्ने प्रक्षेपण गरेका थिए। उनले पनि आर्थिक मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताएका थिए।

सोमबार संघीय संसद्मा अर्थतन्त्रसम्बन्धी धारणा प्रस्तुत गर्दै अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी दुई वर्षसम्म वार्षिक जीडीपी वृद्धि दुई प्रतिशतभन्दा निकै तल झर्न सक्ने बताएका थिए।

यद्यपि, कोषाध्यक्ष र केन्द्रीय बैंक दुवैले अर्थतन्त्र ऋणात्मक दिशामा जाने अर्थात् संकुचन हुने अपेक्षा नगरेको उनले स्पष्ट पारेका थिए।

चाल्मर्सले सन् २०२६ अस्ट्रेलियाका नागरिक, अर्थतन्त्र र विश्व समुदायका लागि निकै कठिन वर्ष रहेको बताएका थिए। आगामी दिनमा परिस्थिति सहज हुनुअघि थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको छ। कोषाध्यक्ष चाल्मर्सका अनुसार इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण समग्र मुद्रास्फीति निकै उच्च रहने अर्थशास्त्रीहरूको अनुमान छ। एजेन्सी

प्रकाशित: ९ मंसिर २०८३ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App