आर्मेनियाको संसदमा बिहीबार सत्तारुढ दल र विपक्षी सांसदहरूबिच कुटाकुट भएको छ।
भ्रष्टाचारको आरोप र महिलाबारे गरिएको विवादास्पद टिप्पणीलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि सांसदहरू एक अर्कामाथि मुक्का र लात्ती प्रहार गर्न थाले। झडपमा केही सांसद घाइते भएपछि संसद् भवनमा एम्बुलेन्स बोलाउनुपरेको थियो।
प्रधानमन्त्री निकोल पशिन्यानको सत्तारुढ सिभिल कन्ट्र्याक्ट पार्टी र विपक्षी स्ट्रङ आर्मेनिया समूहका सांसदहरूबिच सार्वजनिक खर्चको निगरानी गर्ने लेखापरीक्षण निकायमा नियुक्तिबारे छलफल भइरहेका बेला विवाद सुरु भएको थियो।
सत्तारुढ दलका सांसद तारोन चाखोयानले विपक्षी समूहका नेता नारेक करापेट्यानमाथि भ्रष्टाचारको आरोप लगाए। उनले करापेट्यानका आफन्तहरू पनि राजनीतिमा संलग्न रहेको भन्दै उनका काकाका छोरा सार्गिस करापेट्यानले यसअघि महिलाबारे दिएको विवादास्पद अभिव्यक्तिको प्रसंग उठाए।
यस वर्षको फेब्रुअरीमा सार्गिसले आफ्नो पार्टी सत्तामा आए देशमा कुनै पनि महिला यौन असन्तुष्ट नरहने बताएका थिए। जनसंख्या घट्ने समस्या समाधानबारे एक पोडकास्टमा छलफल हुँदा उनले यस्तो टिप्पणी गरेका थिए। छलफलका क्रममा ‘यौन मन्त्रालय’ बनाउने विषय उठेपछि उनले यौनबिना जनसंख्याको समस्या समाधान गर्न नसकिने बताएका थिए।
उक्त अभिव्यक्तिको आलोचना भए पनि सार्गिसले माफी नमागेको भन्दै चाखोयानले प्रश्न उठाए। उनले नारेकलाई सम्बोधन गर्दै आफ्नो परिवारका सदस्यले दिएको अभिव्यक्तिका लागि अहिलेसम्म किन माफी नमागेको भन्दै आलोचना गरे।
चाखोयानको भनाइपछि नारेकले आफ्नो सिटबाटै जवाफ दिए। त्यसपछि दुवै पक्षका सांसदहरू आक्रोशित हुँदै उठे र एक अर्कालाई धकेल्न तथा हिर्काउन थाले। केही समयमै संसदभित्रै मुक्का र लात्ती हानाहान सुरु भयो।
झडपका क्रममा उपसभामुख वाग्न अलेक्सान्यानले विपक्षी सांसदहरूतर्फ कुर्सी फ्याँकेका थिए। सत्तारुढ दलका सांसद चाखोयानले विपक्षी सांसद गार्निक दाभत्यानमाथि पानीसमेत छ्यापेका थिए। झडप बढ्दै जाँदा केही सांसद भुईँमा ढलेका थिए।
संसदका सभामुख रुबेन रुबिन्यानले सुरुमा बैठक स्थगित गर्न अस्वीकार गरेका थिए। उनले सबैले घटना देखुन् भनेर बैठक जारी राख्ने बताएका थिए। तर, झडप नरोकिएपछि उनले बैठकमा विश्राम घोषणा गरे र सुरक्षाकर्मी बोलाए। संसद् भवनबाहिरका करिडोरमा समेत केही समय झगडा जारी रहेको बताइएको छ।
घटनापछि संसद् भवनमा एम्बुलेन्स बोलाइएको थियो। विपक्षी सांसद एन्ड्रानिक गेभोर्ग्यानको नाकबाट रगत बगेको र अर्का सांसद रुबेन मखितार्यनको लुगा च्यातिएको दृश्य सार्वजनिक भएको थियो। झडपमा घाइते भएका सांसदको अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
बैठक पुनः सुरु भएपछि सभामुख रुबिन्यानले झडपका लागि विपक्षी नेता नारेकलाई जिम्मेवार ठहर गरे। उनले नारेकले चाखोयानको भाषणमा अवरोध गरेको र उनीमाथि प्रहार गर्ने प्रयास गरेको आरोप लगाए। विपक्षी सांसदहरूले भने सभामुख र सत्तारुढ दलका सांसदहरूले नै विवाद बढाएको दाबी गरेका छन्।
प्रधानमन्त्री पशिन्यानले घटनाप्रति दुःख व्यक्त गर्दै हिंसाको निन्दा गरे। तर, उनले आफ्नै पार्टीका सांसदहरूलाई समर्थन पनि गरे। विपक्षमा हुनुको अर्थ जथाभाबी बोल्ने वा व्यवहार गर्ने छुट नहुने उनको भनाइ थियो।
पत्रकारहरूसँग कुरा गर्दै पशिन्यानले कसैले सांसदलाई हात उठाए त्यसको कडा जवाफ दिइने चेतावनीसमेत दिए। आवश्यक परे कुर्सी प्रयोग गरेर भए पनि जवाफ दिनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।
आर्मेनियाको मानव अधिकार रक्षकको कार्यालयले भने सांसदहरूबाट हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ। असहमति व्यक्त गर्ने नाममा हिंसा गर्ने र त्यसलाई उचित ठहराउने अभिव्यक्ति दिने काम रोक्न कार्यालयले आग्रह गरेको छ। घटनाको कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्ने पनि कार्यालयको भनाइ छ।
आर्मेनियाको संसदमा एक महिनाभित्रै सरकार र विपक्षी सांसदहरूबिच भएको यो दोस्रो ठुलो झडप हो। यसअघि अक्टोबर ६ मा पनि सांसदहरूबिच विवाद हुँदा बैठक स्थगित गर्नुपरेको थियो। संसद्ले यस्ता घटना रोक्न केही नियम बनाएको भए पनि पछिल्लो घटनाले ती नियम प्रभावकारी हुन नसकेको देखाएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १०:३१ शुक्रबार





