दुबईबाट तेल अभिभका लागि उडान भरेको फ्लाईदुबईको यात्रुवाहक विमान बुधबार बिहान साउदी अरेबियाको ताबुकमा सुरक्षित अवतरण गरिएको छ।
विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाईदुबईले जनाएको छ। फ्लाईदुबईका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बेन गुरियन विमानस्थलका लागि उडेको उडान नम्बर एफजेड १०७३ मा घटना भएको हो।
विमान ताबुकमा सुरक्षित अवतरण गरिएको र सबै यात्रुको सुरक्षाको जिम्मेवारी लिइएको कम्पनीले बताएको छ। फ्लाईदुबईले यात्रु र चालक दलको सुरक्षा तथा स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ।
एक सयभन्दा बढी इजरायली यात्रु सवार विमानले सुरुमा सामान्य आपतकालीन अवस्थाको संकेत दिने ७७०० संकेत प्रसारण गरेको थियो। त्यसपछि गैर कानुनी हस्तक्षेप वा अपहरणको संकेत दिने ७५०० संकेत पठाइएको थियो। केही समयपछि विमानले फेरि ७७०० संकेतमा फर्किएको थियो।
यसपछि इजरायली वायुसेनाले सम्भावित आपतकालीन अवस्थाको तयारी गर्दै लडाकु विमान उडाएको र सुरक्षा सतर्कता बढाएको स्थानीय सञ्चारमाध्यमले जनाएका थिए। विमान साउदी अरेबियामा अवतरण गरेपछि इजरायली हवाई क्षेत्र केही समयका लागि बन्द गरिएको थियो। पछि हवाई क्षेत्र पुनः खोलिएको छ।
तर इजरायली अधिकारी र सुरक्षा स्रोतका अनुसार विमान अपहरणमा परेको थिएन। विमानमा रहेका दुई पाइलटबिच हावामै झगडा भएपछि आपतकालीन संकेत पठाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।
विमान अवतरण गरेपछि घटनाबारे थप अनुसन्धान गर्न चालक दलका सदस्यसँग सोधपुछ र विमानको निरीक्षण गर्ने तयारी गरिएको छ। यात्रुहरूलाई तेल अभिभ फर्काउन अर्को विमान पठाउने तयारी गरिएको छ।
प्रकाशित: १४ आश्विन २०८३ १३:४७ बुधबार





-600x400.jpg)