२८ आश्विन २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

३०६ यात्रु सवार एयर इन्डियाको विमान डाइभर्ट

जर्मनीको फ्र्यांकफर्टबाट भारतको दिल्लीका लागि उडेको एयर इन्डियाको विमान बुधबार सुरक्षा सतर्कतापछि जयपुरतर्फ डाइभर्ट गरिएको छ।

विमानले स्थानीय समयअनुसार बिहान करिब ९:३५ बजे जयपुर विमानस्थलमा सुरक्षित अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रारम्भिक विवरणअनुसार एआई२०३० उडान नम्बरको बोइङ ७८७-९ विमानका पाइलटले अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेत दिने ‘स्क्वाक ७५००’ कोड सक्रिय गरेका थिए। त्यसपछि सुरक्षा निकायलाई सतर्क गराउँदै विमानलाई सावधानीका लागि जयपुर डाइभर्ट गरिएको थियो।

विमान अवतरणपछि सुरक्षा जाँचका लागि छुट्टै स्थानमा राखिएको थियो। केन्द्रीय औद्योगिक सुरक्षा बल, स्थानीय प्रहरी र बम जाँच गर्ने टोलीले विमान तथा यात्रुका सामानको निरीक्षण गरेका थिए। विमानमा रहेका यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालेर विमानस्थलको टर्मिनलमा लगिएको थियो।

गल्फ न्युजका अनुसार विमानमा ३०६ यात्रु सवार थिए। प्रारम्भिक जानकारीअनुसार पाइलटले गल्तीले संकेत सक्रिय गरेको हुन सक्ने आशंका गरिएको छ। तर यसको कारणबारे आधिकारिक पुष्टि भएको छैन।

विमानस्थल अधिकारीहरूका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। एक अधिकारीले यो बमसम्बन्धी धम्की नभई विमान अपहरणको आशंकासँग जोडिएको सतर्कता भएको बताएका छन्।

प्रकाशित: २८ आश्विन २०८३ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App