अमेरिका र क्यानडाबिचको लामो समयदेखि चल्दै आएको व्यापारिक तथा राजनीतिक तनावले नयाँ मोड लिएको छ।
दुई छिमेकी देशबिच पछिल्लो विवाद समाधान गर्न अन्तिम समयमा भएको वार्ता असफल भएपछि अमेरिकी प्रशासनले क्यानडामाथि ठुलो आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। यसले दुई देशबिचको दशकौँ पुरानो आर्थिक साझेदारीलाई गम्भीर संकटमा पारेको छ।
अमेरिका र क्यानडाका अधिकारीहरूबिच व्यापार सम्झौतालाई अन्तिम रूप दिन लामो समयदेखि प्रयास भइरहेको थियो। तर, अन्तिम चरणमा वाशिंगटनले प्रस्तुत गरेका नयाँ सर्तहरू आर्थिक रूपमा अनुचित र मान्य नभएको भन्दै क्यानडाले असहमति जनायो। शुक्रबार रातिसम्म चलेको वार्तापछि पनि दुवै पक्ष सहमतिमा पुग्न सकेनन्।
वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शनिबार बिहानदेखि लागू हुने गरी क्यानडाबाट आयात हुने लगभग २० अर्ब डलर बराबरका उत्पादनहरूमा ५० प्रतिशत कर (ट्यारिफ) लगाएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले क्यानडाले यसअघि सहमति भएका सर्तहरू पालना गर्न अस्वीकार गरेको र हाललाई कुनै पनि नयाँ वार्ताको योजना नरहेको बताए। उनले अमेरिकी कामदारहरू र आपूर्ति शृङ्खलाको सुरक्षाका लागि यो कदम आवश्यक रहेको स्पष्ट पारेका छन्।
अमेरिकी कदमको कडा प्रतिक्रिया दिँदै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ओटावाको संसद् भवनबाट सम्बोधन गर्दै सेप्टेम्बर ८ देखि अमेरिकी वस्तुहरूमाथि प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्नीले अमेरिकाले प्रस्ताव गरेको सर्तहरूले क्यानडाको सार्वभौमिकता र आर्थिक हितमा आघात पुर्याउने खालको भएको पनि बताए।
‘हामीले उनीहरूले प्रस्ताव गरेको कुरा स्वीकार गर्न सक्दैनौं, र हामीले उनीहरूले मागेको कुरा दिने छैनौं,’ कार्नीले भने। क्यानडा सरकारले आगामी दिनमा यो प्रतिशोधात्मक करको विस्तृत विवरण सार्वजनिक गर्नेछ, जसले अमेरिकी स्टिल, इलेक्ट्रोनिक्स, दुग्धजन्य उत्पादनहरू, कृषि उपकरण, पल्प र कागज लगायतका धेरै क्षेत्रहरूलाई समेट्नेछ।
ट्रम्प प्रशासनको यो नयाँ कर नीतिले हक्की स्टिक, फर्निचर, वाइन, सिमेन्ट, कपडा र माछा मार्ने उपकरणलगायतका विभिन्न क्षेत्रलाई असर गरेको छ। यसले अमेरिका-मेक्सिको-क्यानाडा सम्झौता (युएसएमसीए) अन्तर्गत यसअघि सुरक्षित रहेका अधिकांश क्यानाडाली निर्यातलाई समेत समेटेको छ।
व्यापार विज्ञहरूका अनुसार क्यानडाले आफ्नो कुल निर्यातको करिब ७० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकामा पठाउने भएकाले यो व्यापार युद्धले दुवै देशका बजारमा ठुलो प्रभाव पार्नेछ। अमेरिकी उपभोक्ताहरूले यसअघि नै उच्च मंहगो लागतको सामना गरिरहेका बेला नयाँ करले मुद्रास्फीतिलाई अझ बढाउन सक्ने देखिएको छ।
यो संकटको घडीमा क्यानडाका राजनीतिक दलहरू र प्रान्तीय नेताहरूले राष्ट्रिय एकताको प्रदर्शन गरेका छन्। ओन्टारियो प्रिमियर डग फोर्डले प्रधानमन्त्री कार्नीको अडानलाई पूर्ण समर्थन गर्दै यो क्यानडाको अटो, स्टिल र निर्माण क्षेत्रको बचाउका लागि आवश्यक कदम भएको बताए। साथै, विपक्षी नेताहरूले पनि देशको अर्थतन्त्र र कामदारहरूको सुरक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन्। एजेन्सी
प्रकाशित: ७ भाद्र २०८३ ०६:४७ आइतबार





