अमेरिकाको म्यासाचुसेट्समा तीन छोराछोरीको हत्या आरोपमा मुद्दा खेपिरहेकी लिन्डसे क्ल्यान्सीको मुद्दामा जुरीले सर्वसम्मत निर्णय दिन नसकेपछि मिस्ट्रायल भएको छ।
करिब सात दिनसम्म छलफल गरे पनि जुरी कुनै निष्कर्षमा पुग्न नसकेपछि म्यासाचुसेट्स सुपीरियर कोर्टका न्यायाधीश विलियम एफ. सुलिभानले शुक्रबार मिस्ट्रायल घोषणा गरेका हुन्। मिस्ट्रायल घोषणा भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्ल्यान्सीमाथि फेरि मुद्दा चल्ने बताएका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ, अर्को मुद्दा चल्नेछ। यो एउटा भयानक अवस्था हो।’
ट्रम्पले क्ल्यान्सीले गरेको भनिएको काम निकै गम्भीर भएको बताउँदै उनी अन्ततः मानसिक अस्पताल वा जेलमा जान सक्ने बताएका छन्। ‘उनले भयानक, भयानक काम गरिन्। योभन्दा नराम्रो अरू केही हुन सक्दैन,’ ट्रम्पले भने।
३६ वर्षीया क्ल्यान्सीमाथि आफ्ना तीन छोराछोरी ५ वर्षीया कोरा, ३ वर्षीय डसन र ८ महिनाका क्यालनको हत्या गरेको आरोप छ। जनवरी २०२३ मा उनले तीनै जनाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छन्। तर क्ल्यान्सीले घटना हुँदा आफू प्रसवपछिको मनोविकृति अर्थात् पोस्टपार्टम साइकोसिसबाट पीडित रहेको दाबी गर्दै आएकी छन्। उनले आफ्नो मानसिक अवस्थाका कारण आफूले गरिरहेको कामको प्रकृति र त्यसको गलतपन बुझ्न नसकेको भन्दै पागलपनको कानुनी बचाउ लिएकी थिइन्।
अभियोजन पक्षले भने क्ल्यान्सी मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको भए पनि आफ्ना छोराछोरीको हत्या गर्ने र त्यसका लागि आपराधिक रूपमा जिम्मेवार हुने अवस्थामा रहेको दाबी गरेको थियो। बचाउ पक्षले भने उनको मानसिक अवस्था अत्यन्त गम्भीर रहेको भन्दै उनले आफ्नो कामको वास्तविकता बुझ्न नसक्ने अवस्था रहेको बताउँदै आएको थियो।
मुद्दाको अन्तिम चरणमा जुरी ११-१ को अवस्थामा पुगेको दाबी बचाउ पक्षका वकिल केभिन रेडिंगटनले गरेका छन्। उनका अनुसार ११ जना जुरी सदस्य क्ल्यान्सीलाई निर्दोष ठहर गर्ने पक्षमा थिए भने एक जना सदस्य त्यसको विपक्षमा थिए। रेडिंगटनले ती एक जना जुरी सदस्यलाई हटाउन माग गरेका थिए। तर न्यायाधीश सुलिभानले उनको माग अस्वीकार गरे।
जुरीले सर्वसम्मत निर्णय दिन नसकेपछि अन्ततः मिस्ट्रायल घोषणा गरिएको हो। मिस्ट्रायल भएको अवस्थामा क्ल्यान्सीलाई दोषी वा निर्दोष ठहर मानिँदैन। अब अभियोजन पक्षले उनलाई फेरि मुद्दा चलाउने, सम्झौतामार्फत टुंग्याउने वा अभियोग अघि नबढाउनेमध्ये एक निर्णय गर्न सक्छ।
प्लाइमाउथ काउन्टीका जिल्ला न्यायाधिवक्ता टिमोथी जे. क्रुजले क्ल्यान्सीलाई फेरि मुद्दा चलाउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए। उनले आगामी कानुनी कदमबारे थप छलफल हुने बताएका छन्। क्ल्यान्सी हाल टेक्सबरी अस्पतालमा रहेकी छन्। हत्या भएको समयदेखि नै उनलाई उक्त मनोचिकित्सकीय सुविधामा राखिएको छ।
क्ल्यान्सीको मुद्दाले अमेरिकामा प्रसवपछिको मानसिक स्वास्थ्य, गम्भीर मानसिक रोग र त्यस्तो अवस्थामा भएका अपराधमा व्यक्तिको कानुनी जिम्मेवारीबारे बहसलाई समेत चर्चामा ल्याएको छ। क्ल्यान्सी आगामी सेप्टेम्बर २९ मा फेरि अदालतमा उपस्थित हुनेछिन्। उक्त दिन अभियोजन पक्ष र बचाउ पक्षले मिस्ट्रायलपछि अब अपनाइने कानुनी प्रक्रियाबारे छलफल गर्नेछन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २० भाद्र २०८३ १३:०६ शनिबार





