यतिबेला सन् २०२६ को फिफा विश्वकपको चर्चाबिच क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र पप स्टार केटी पेरी पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा आयोजित फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा प्रेमिका केटी पेरीको प्रस्तुतिलाई साथ दिन पुगेका ट्रुडोले स्पष्टीकरण दिनुपरेको छ। आफ्नो देश क्यानडाको ऐतिहासिक पहिलो घरेलु विश्वकप खेल छाडेर अमेरिकी टोलीको खेल हेर्न लस एन्जलस पुगेपछि क्यानेडियन फ्यानले आलोचना गरेका थिए।
विश्वकपको सहआयोजक समेत रहेको क्यानडाले टोरोन्टोमा बोस्निया एण्ड हर्जगोभिनासँग खेलिरहेका बेला ट्रुडो लस एन्जलसको एउटा प्राइभेट सुटमा केटी पेरीसँग रोमान्टिक अन्दाजमा अमेरिकी टोलीको खेल हेरिरहेका थिए। देशको पूर्वप्रधानमन्त्री समेत रहेको व्यक्तिले आफ्नो देशको खेल छोडेर क्यानेडियन टोलीप्रति ‘उदासिनता’ देखाएको भन्दै सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो।
विवादपछि उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो बचाउ गरेका हुन्। उनले क्यानडाको झण्डासहितको इमोजी राखेर लेखेका छन्, ‘कहिलेकाहीँ सहयोगी ब्वाईफ्रेण्डको कर्तव्यले बोलाउँछ। तर विश्वकप कसले जितोस् भन्ने मेरो चाहना छ, त्यो तपाईंहरूलाई राम्रोसँग थाहा छ।’
फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को पहिलो खेल शुक्रबार क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाबिच भएको थियो, जुन १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसै दिन अमेरिकाले सोफाइ स्टेडियममा प्याराग्वेसँग खेल्दै ४-१ को जित हासिल गरेको थियो। क्यानडाले अब अर्को खेल आउँदो बिहीबार घरेलु मैदान भ्यानकुभरमा कतारसँग खेल्नेछ। अमेरिकाले भने अर्को खेल घरेलु मैदान (सिएटल रंगशाला) मा शनिबार अस्ट्रेलियाविरुद्ध खेल्नेछ।
सन् २०२५ देखि सम्बन्धमा रहेका ट्रुडो र पेरी समय समयमा चर्चामा आइरहेका हुन्छन्। एजेन्सी
प्रकाशित: ३१ जेष्ठ २०८३ १०:१० आइतबार





