७ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वैवाहिक वर्षगाँठ मनाउन जाँदा भालु छिरेपछि...

भिक्टोरिया पुयोल र जोशुआ कार्ड आफ्नो विवाहको सातौँ वर्षगाँठ मनाउन अमेरिकाको टेनेसी राज्यस्थित ग्याटलिनबर्ग सहर घुम्दै थिए। शुक्रबार उनीहरू 'द स्पाइस एण्ड टी एक्सचेन्ज' नामक चिया पसलमा छिरे, जहाँ कार्डले ढोका नजिकै एउटा नसोचेको पाहुना देखे। त्यो एउटा भालु थियो।

'त्यहाँ एउटा भालु छ,' कार्डले भने।

सुरुमा त भिक्टोरियाले के भइरहेको छ भनेर मेसो पाइनन्। तर, जब कार्ड र पसलका कर्मचारीले फेरि त्यही कुरा दोहोर्‍याए, उनले फर्केर हेर्दा ढोकामा उभिएको भालु देखिन्। उनीहरूले भालुबाट टाढा रहनुपर्छ भन्ने नियम त सम्झेका थिए, तर उनीहरू जति पछाडि सर्थे, भालु त्यति नै पसलभित्र पस्दै गयो। त्यसपछि पसलका कर्मचारीले उनीहरूलाई काउन्टरको पछाडि लगे, जहाँबाट आपत्कालीन ढोकातर्फ निस्कन सकिन्थ्यो।

फक्स न्युजका अनुसार त्यो जिज्ञासु भालु पसलका सामानहरूमा निकै चासो दिइरहेको थियो। उसले गुलियो चियाको प्याकेट च्यात्यो र चिया छान्ने मेसिन (डिफ्युजर) सुँघ्न थाल्यो। बाहिर मानिसहरूको भीड जम्मा भइसकेको थियो। छेउको पसलका एक कर्मचारीले भालुलाई तर्साउन एयर हर्न बजाए, तर भालुलाई त्यसको कुनै असर परेन।

भालु काउन्टर नजिक पुगेपछि कार्डले भिडियो खिच्न थाले।

'हे साथी, तिमी त्यहाँ के गर्दै छौ ?' भिडियोमा कार्डले भनेको सुन्न सकिन्छ।

त्यसपछि भालु फर्कियो र एक्कासि काउन्टरमाथि हाम फाल्यो। यो देखेपछि कार्ड पछाडि हटे।

'ऊ भालुसँग कुकुरलाई जस्तै कुरा गरिरहेको थियो,' भिक्टोरियाले सम्झिइन्, 'त्यो भालु थियो, कुकुर होइन। त्यो एउटा भालु हो।'

कार्डका अनुसार मानिसहरूको बाक्लो उपस्थिति हुने ठाउँ भएकाले सुरुमा उनलाई त्यो कुनै तालिम प्राप्त 'सो बियर' (प्रदर्शनका लागि राखिएको भालु) हो कि जस्तो लागेको थियो। तर, उनले तुरुन्तै त्यो जंगली भालु भएको चाल पाए। सेनामा काम गरिसकेका र लाइफगार्डको अनुभवसमेत बटुलेका कार्डले आफ्नो पृष्ठभूमिले गर्दा यस्तो आपत्कालीन अवस्थामा शान्त रहन मद्दत गरेको बताए। जवान भालुले के गर्ला भन्ने यकिन नभए पनि उनले यसलाई हस्तक्षेप गर्ने कि ठाउँ दिने भन्ने सोचिरहेका थिए।

'मलाई यो कुनै आपत्कालीन अवस्था जस्तो लागेन,' कार्डले भने, 'यो केवल नसोचेको घटना थियो।'

कार्डका अनुसार भालु आक्रामक भन्दा पनि जिज्ञासु देखिन्थ्यो। 'ऊ साँच्चै खतरनाक देखिएको थिएन,' उनले भने, 'जब ऊ काउन्टरमा उफ्रियो, मैले सोचेँ, ठीक छ, म एक कदम पछाडि हट्छु।'

भिक्टोरियाले आफू डराउनुभन्दा पनि आश्चर्यचकित भएको बताइन्। 'म डराएकी थिइनँ, म छक्क परेकी थिएँ,' उनले भनिन्।

उनले थपिन्, 'मलाई हे भगवान्, यो भालु हो, म मर्छु जस्तो लागेन। बरु लाग्यो, ओहो, मभन्दा आठ फिट पर एउटा जंगली जनावर छ।'

रमाइलो कुरा त के छ भने, भिक्टोरियाले यात्रामा निस्कनुअघि कार्डलाई बारम्बार आफू वर्षगाँठको बिदामा भालु हेर्न चाहेको कुरा गरेकी थिइन्।

'आफूले के माग्दै छु भन्ने कुरामा होसियार हुनुपर्दो रहेछ, किनकि म भालु त हेर्न चाहन्थेँ तर यति नजिकबाट होइन,' उनले ठट्टा गर्दै भनिन्।

अन्ततः पसलका कर्मचारीले उनीहरूलाई दोस्रो तल्लामा रहेको अर्को बाटोबाट निस्कन भने। तर उनीहरू निस्कनुअघि नै भालु अचानक त्यहाँबाट भाग्यो। त्यसपछि कार्ड र कर्मचारी मिलेर ढोका बन्द गरे र बाहिर सुरक्षित छ भन्ने पक्का भएपछि मात्र निस्किए।

भिक्टोरियाको अनुमानमा यो सम्पूर्ण घटना करिब १० देखि १५ मिनेटसम्म चलेको थियो।

ती जोडीका अनुसार पसलका कर्मचारीले त्यो भालु त्यहाँ बारम्बार आइरहने र त्यही हप्ताको सुरुमा पनि पसलमा पसेको बताएका थिए। पसलले हप्ताको सुरुमा पनि भालुको तस्बिर पोस्ट गर्दै लेखेको थियो, 'यो सानो भालु आज हाम्रो पसलमा आयो, केही चिनी खायो र अझै चिनी खान फेरि फर्कियो!'

सुरक्षित रूपमा बाहिर निस्किसकेपछि ती जोडीले यो वर्षगाँठ आफूहरूले कहिल्यै नबिर्सने बताए। 'यात्रा यस्तै अनौठा कुराहरूले भरिएको हुन्छ र यसले हाम्रो सम्पूर्ण अनुभवलाई अझ रोमाञ्चक बनाउँछ,' कार्डले भने।

प्रकाशित: ७ भाद्र २०८३ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App