साउदी अरबले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ। यससँगै प्रिमियम रेसिडेन्सी अनुमति प्राप्त धनी गैर-मुस्लिम विदेशी बासिन्दाहरूले पनि मदिरा किन्न पाउने भएका छन्। यो कदमलाई रूढीवादी राज्यको उदारीकरण नीतिको पछिल्लो चरण मानिएको छ।
कुनै औपचारिक घोषणा नभए पनि जानकारी बाहिरिएपछि राजधानी रियादको डिप्लोमेटिक क्वार्टरमा रहेको अचिह्नित पसल बाहिर कार र मानिसहरूको लामो लाइन देखिन थालेको छ। यो पसल सन् २०२४ जनवरीमा गैर-मुस्लिम कूटनीतिज्ञहरूका लागि मात्र खोलिएको थियो। अब विशेष सीप भएका विज्ञ, लगानीकर्ता र उद्यमीहरूलाई दिइने प्रिमियम रेसिडेन्सी धारकहरूलाई पनि अनुमति दिइएको छ।
इस्लामका पवित्र स्थलहरूको देश साउदी अरबमा सन् १९५० को दशकदेखि मदिरा पूर्ण प्रतिबन्धित छ। यो पसललाई नियन्त्रित बिक्रीको सावधानीपूर्ण परीक्षण मानिएको छ।
क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनका पिता राजा सलमानको नेतृत्वमा राज्यले पर्यटन, व्यापार विस्तार र तेल निर्भरता घटाउने सुधार अघि बढाएको छ। यसमा चलचित्र हल, महिलालाई गाडी चलाउने अनुमति र सङ्गीत महोत्सवहरू समावेश छन्। तर राजनीतिक असहमतिमा कडाइ कायम छ।
सामान्य जनताका लागि मदिरा प्रतिबन्धित नै छ। पसल शुल्क-मुक्त स्टोरजस्तो देखिन्छ, सुरक्षा कडा छ। प्रवेशअघि योग्यता र सुरक्षा जाँच अनिवार्य छ। भित्र मोबाइल फोन र क्यामेरा बन्देज छ।
केही ग्राहकहरूले नाम नखुलाउने सर्तमा बताएअनुसार मूल्य महँगा छन्। कूटनीतिज्ञहरूलाई कर छुट छ, तर प्रिमियम रेसिडेन्सी धारकहरूलाई छैन। सङ्ग्रह राम्रो भए पनि बियर र वाइनको छनोट सीमित छ।
प्रिमियम रेसिडेन्सीले साउदी प्रायोजक बिना सम्पत्ति किन्न, व्यवसाय गर्न र परिवार प्रायोजन गर्ने अधिकार दिन्छ, तर उच्च आय वा लगानी चाहिन्छ।
मदिरा खोज्ने धेरैले छिमेकी बहराइन जाने गर्छन्, जहाँ मदिरा उपलब्ध छ। कतिपयले तस्करी वा घरेलु मदिरा प्रयोग गर्छन्, तर मदिरा-रहित पेय लोकप्रिय छन्।
इतिहासमा सन् १९५१ मा राजकुमार मिशारीले नशामा बेलायती उप-वाणिज्यदूतलाई गोली हानी हत्या गरेपछि संस्थापक राजा अब्दुलअजिजले मदिरा प्रतिबन्ध लगाएका थिए।
पछिल्लो जानकारीअनुसार जेद्दा र धाहरानमा नयाँ पसलहरू खोल्ने योजना छ, तर ठोस प्रगति भएको छैन। एजेन्सी
प्रकाशित: ७ पुस २०८२ ०७:०५ सोमबार





