८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘नयाँ दिल्लीको प्रदूषित हावा मानवताविरुद्धको अपराध’

दिल्लीमा वायु प्रदूषणको स्तर जनस्वास्थका लागि खतरनाक स्तरमा उक्लेको छ। दुई करोड जनसंख्याको बसोबास रहेको भारतको राजधानी सहरमा राखिएका अधिकांश सबै वायु प्रदूषण मापन केन्द्रहरूले हावाको गुणस्तरको सूचकांक (एक्युआई)लाई मानव स्वास्थ्यका लागि ‘अत्यन्त खतरनाक’ स्तरमा पुगेको देखाएका छन्। सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार बिहीबार दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ। एक्युआई ४०० भन्दा बढी हुँदा स्वस्थ मानिसलाई समेत प्रभाव पार्दछ भने पहिल्यै विभिन्न रोगबाट ग्रसित भएकालाई गम्भीर प्रभाव पार्दछ। सहरको केही पकेट क्षेत्रमा एक्युआई ८०० सम्म पुगेको देखिएको बोर्डले जनाएको छ।  

‘वायु प्रदूषणको विद्यमान अवस्था भनेको मानवताविरुद्धको अपराधभन्दा कम होइन। सार्वजनिक उत्तरदायित्व सम्पूर्ण रूपमा तहसनहस भएको देखिएको छ,’ लेखक तथा समाजवादी चिन्तक सुहेल सेथले ट्विटरमा भनेका छन्।  

विश्वको सबैभन्दा बढी प्रदूषित राजधानी मानिएको दिल्लीमा हिउँदयाम सुरु भएसँगै वायु प्रदूषण ह्वात्तै बढ्ने गर्दछ। सवारीसाधनले गर्ने उत्सर्जन तथा छिमेकी राज्य हरियाणामा ठुलो स्तरमा घैमल डढाउने गर्दा निस्कने धुवाँका कारण प्रदूषण बढ्ने गर्दछ। यसैगरी चिसो हावाले धेरै समयसम्म धुलो वहन गर्ने क्षमता राख्दछ। शान्त हावाको बहावमा अकस्मात् आउने परिवर्तनले पनि हावाको गुणस्तरलाई प्रभावित पार्ने वैज्ञानिक ठम्याइ छ। प्रदूषणको कहर ह्वात्तै बढेपछि वातावरणविद् तथा अभिभावकहरूले सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्नुपर्ने माग गरेका छन्।

‘मलाई थाहा छ, बालबालिकाले तपाईंका लागि भोट दिँदैनन्, तैपनि म नयाँ दिल्लीसहित वरपरका राज्यका मुख्यमन्त्रीलाई तत्काल विद्यालय बन्द गर्न अनुरोध गर्दछु,’ वातावरण अभियन्ता विमलेन्दु झाले ट्विटरमा भनेका छन्। ‘बालबालिकाले ५०० भन्दा माथि एक्युआई रहेको हावामा श्वास फेर्नुलाई सामान्य मान्न सकिन्न। त्यसमाथि एक तिहाई बालबालिकामा श्वासप्रश्वास रोग रहेकाले यो झन् अस्वीकार्य विषय हो,’ उनले भनेका छन्।

दिल्ली र पञ्जावमा आफ्नो पार्टीको सरकार रहेको सन्दर्भमा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदूषण नियन्त्रण गर्न यथाशक्य प्रयास भइरहेको बताएका छन्। राजधानी दिल्लीमा निर्माण तथा संरचना भत्काउने सबै कार्य गर्न प्रतिबन्ध लगाइएको छ। यसैगरी सर्वसाधारणलाई कार र मोटरसाइकल साझेदारी गर्न तथा सकेसम्म घरबाटै काम गर्न आह्वान गरिएको छ। घरमा कोइला तथा दाउरा नबाल्नसमेत अनुरोध गरिएको छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App