१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीन कहिल्यै विस्तारवादी गतिविधिमा लाग्दैन’

फाइल तस्बिर

चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन कहिल्यै पनि आधिपत्यको खोजी र विस्तारवादी गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले चीन सबै किसिमका आधिपत्य र सत्ताकेन्द्रित राजनीति, शीतयुद्धको मानसिकता, अन्य मुलुकको आन्तरिक मामिलामा हस्ताक्षेप र दोहोरो चरित्रको विरुद्धमा रहने बताएका छन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षालाई अझ आधुनिकीकरण गर्ने जनाएका छन्। साथै उनले मुलुकको सुरक्षाका लागि जनमुक्ति सेनाको क्षमता अभिवृद्धि गर्ने पनि घोषणा गरेका छन्।

सम्बोधनका क्रममा उनले ताइवानको समस्या हल गर्ने प्रश्नले अर्थ राख्ने र यसलाई चिनियाँले नै हल गर्ने जनाएका छन्। उनले इतिहासको चक्र चीनको पुनर्एकीकरण र कायाकल्प गर्नेतर्फ घुमिरहेको र मुलुकको पुनर्एकीकरण महसुस बिनाकुनै आशंका हुनुपर्ने बताएका छन्। उनले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिँदै आत्मसुधारका माध्यमबाट यससँग लड्नुपर्ने बताएका छन्। उनले भ्रष्टाचार अन्त्य नभएसम्म यसविरुद्धको बिगुल बजाइरहने प्रतिबद्धता जनाए। उनले चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाईसौं केन्द्रीय समितिका तर्फबाट बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा आयोजित बीसौं राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

करिब दुई हजार तीन सय प्रतिनिधिको उपस्थितिमा करिब एक सातासम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमार्फत चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व, संविधान संशोधन र आगामी पाँच वर्षका लागि मुलुकको नीति निर्देशन तय हुने छ। सामान्यतः चीनमा एउटै व्यक्ति दुई कार्यकालसम्म राष्ट्रपति हुने व्यवस्था रहेको छ, जसअनुसार कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुपर्ने हो, तर यसपटकको राष्ट्रिय सम्मेलन किन पनि महत्वपूर्ण छ भने राष्ट्रपति एवं पार्टी महासचिव सीले तेस्रो कार्यकालको पनि जिम्मेवारी लिने र पार्टी र सरकारको शक्तिमा रहिरहने सम्भावना छ।

प्रकाशित: १ कार्तिक २०७९ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App