१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पृथ्वीको तापमान वृद्धिले पाकिस्तानमा बाढी

पाकिस्तानमा आएको भीषण बाढीको कारण विश्व तापमान वृद्धि रहेको आकलन वैज्ञानिकहरूले गरेका छन्। विश्वका विभिन्न निकाय तथा वैज्ञानिक सहभागी रहेको ‘वल्र्ड वेदर एट्रिब्युसन’ नामक वैज्ञानिक सञ्जालका अनुसार वर्षाको तीव्रताका लागि जलवायु परिवर्तनले मुख्य भूमिका खेलेको हुन सक्छ।

यो निष्कर्षका लागि अझै केही अनिश्चितता भएको स्वीकार गर्दै वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावको स्तरलाई मापन गर्न कठिन रहेको बताएका छन्। यस प्रकारको घटना आगामी केही वर्षमा पुनः हुन सक्ने सम्भावना लगभग १ प्रतिशत रहेको पनि उनीहरूको ठम्याइ छ। बाढी सुरु भएको दुई महिनामा पाकिस्तानका लाखौं मानिस विस्थापित भएका छन् भने अहिलेसम्म १५ सयले ज्यान गुमाएका छन्। भीषण वर्षाका कारण इन्दुज नदीमा ठुलो बाढी आएको छ भने पहिरो र हाँडीघोप्टे वर्षाका कारण धेरै भूभाग जलमग्न बनेको छ । पाकिस्तानका राजनीतिक नेताहरूले सुरुदेखि नै यो प्राकृतिक विपदका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताउँदै आएका छन्। तर वैज्ञानिक समीक्षाले यो विषय जटिल रहेको देखाएको छ।

गत वर्षको सुरुमा पाकिस्तान र भारतमा आएको तातोलहरका लागि जलवायु परिवर्तन जिम्मेवार मानिएको छ। वैज्ञानिक अध्ययनले यो विपदका लागि जलवायु परिवर्तन ३० प्रतिशत जिम्मेवार रहेको हुनसक्ने आकलन गरेका थिए। तर भीषण वर्षाको कारण समीक्षा गर्न त्यति सजिलो नहुने वैज्ञानिक तर्क छ। मनसुन क्षेत्रको किनारमा रहेकाले पाकिस्तानमा हरेक वर्ष फरक हिसाब र तीव्रताले वर्षा हुने गर्छ। सन् २०१० मा ला–लिना नामक तुफानले पाकिस्तानमा ठुलो बाढी आएको थियो तर यस्ता विषम मौसमी घटनाको प्रभाव किटान गर्न कठिन हुँदै आएको छ।  

यस वर्ष लगातार ६० दिनसम्म आएको वर्षा यसअघिको भन्दा ५० प्रतिशतले बढी रहेको र यसले सिन्ध र बलुचिस्तानमा सबैभन्दा बढी प्रभावित पारेको छ। यी प्रान्तमा सरदर भन्दा ७५ प्रतिशत बढी वर्षा भएको थियो। क्लाइमेट मोडलको प्रयोग गर्दै अनुसन्धानकर्ताले विश्वको तापमान वृद्धि नभएको अवस्थामा यस्ताखाले विपद्का घटना हुन सक्ने अथवा नसक्ने विषयमा समीक्षा गरेका थिए। केही मोडलले मानवीय कारणले भएको जलवायु परिवर्तनले वर्षाको तीव्रतालाई बढाएको देखाएका छन्। तर यो नतिजामा पुग्न अझै पनि अन्य केही अनिश्चितता रहेको वैज्ञानिक मत छ।

‘हाम्रा प्रमाणहरूले यो घटनाका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको देखिन्छ तर त्यसका लागि यो पक्ष कति जिम्मेवार छ भनेर यकिन गर्न त्यति सजिलो छैन,’ अध्ययन प्रतिवेदनका लेखकसमेत रहेका इम्पेरियल कलेज अफ लन्डनका वैज्ञानिक फाइडेरिक ओटोले भनेका छन्। क्लाइमेट प्रोजेक्सनले यसअघि नै आकलन गरेअनुसार पाकिस्तानमा यस प्रकारका घटना भएको उनले बताए। ऐतिहासिक रेकर्डले पनि मानिसले वायुमण्डलमा हरितगृह ग्यासको अत्यधिक उत्सर्जन गर्न थालेपछि भीषण वर्षाका घटना बढ्न थालेको देखाएका छन्। वैज्ञानिक ओटोले पृथ्वीको तापमानमा थप वृद्धि भए यस प्रकारका घटना झन् तीव्र हिसाबले बढ्दै जाने बताएका छन्। ‘जलवायु परिवर्तनको प्रभाव ठ्याक्कै भन्न नसकिएला तर पृथ्वीको तापमान वृद्धिले आफ्नो पदचाप देखाउन थालिसकेको छ,’ उनले भने। अनुसन्धानकर्ताले यस वर्ष पाकिस्तानमा आएजस्तो भीषण बाढी आगामी कुनै पनि वर्ष आउन सक्ने सम्भावना १ प्रतिशतको हाराहारीमा रहेको तर यसमा केही अनिश्चितता भने देखापरेको बताएका छन्।  

(बिबिसी)

प्रकाशित: १ आश्विन २०७९ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App