१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाको सत्तारुढ राजापाक्षे परिवार अस्तित्वको लडाइँमा

उनको भव्य आवासमा प्रदर्शनकारीले भित्तेचित्र पोतेका छन् र उनका पिताको सम्मानमा बनाइएको एक संग्रहालय तोडफोड भएको छ। श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्द्रा राजापाक्षे कडा सुरक्षा व्यवस्थासहित हाल सैनिक शिविरमा लुकेका छन्।

दशकौंसम्म हिन्द महासागरको टापु राष्ट्रमा एक शक्तिशाली नेताको रूपमा रहेका राजापाक्षेको भाग्य अचानक परिवर्तन भएको छ। विगतको लामो गृहयुद्धलाई टुंग्याएकामा श्रीलंकालीका जनता राजपाक्षे परिवारलाई आदरपूर्वक हेर्ने गर्दथे तर त्यही परिवारका ७६ वर्षीय पूर्वप्रधानमन्त्री अहिले अछुत जस्तै बनेका छन्। 

कोभिड–१९ र आर्थिक व्यवस्थापन गर्न नसकेका कारण सिर्जना भएको आर्थिक संकट गहिरिँदै जाँदा इन्धन, औषधि तथा अत्यावश्यक वस्तु खरिद गर्न आवश्यक विदेशी मुद्राको सञ्चिती लगभग सकिएको छ। यसले लामो समयसम्म ब्लाक आउट गर्नुपर्ने बाध्यता आएको छ भने इन्धन खरिद गर्न लामो लाइनमा बस्नुपर्ने भएको छ। खाद्यवस्तुको मूल्य अकासिएको छ श्रीलंकामा।

प्रधानमन्त्री र उनका भाइ राष्ट्रपति गोतावाया राजापाक्षेको राजीनामाको मागसहित विगत कैयौं सातादेखि हुँदै आएको विरोध प्रदर्शन गत सोमबार हिंसात्मक बन्दा ९ जनाको मृत्य भएको थियो भने ३ सय जना घाइते भएका थिए। श्रीलंकामा सन् २००९ मा अन्त्य भएको गृहयुद्धपछि देखिएको यो सबैभन्दा ठूलो संकट हो। राजापाक्षेका परिवारजनको बसोबास रहेको श्रीलंकाको दक्षिणी क्षेत्रस्थित विराकेटिया सहर पनि यो संकटबाट अछुतो छैन। सोमबार प्रधानमन्त्रीले राजीनामा गरेको समाचार सार्वजनिक भएपछि उनको पैतृक आवासगृहको सुरक्षामा खटिएका प्रहरीमाथि सयौं प्रदर्शनकारी जाई लागेका थिए। उनीहरूले घरको तोडफोड गरेका थिए।

उनको मुख्य आवासको भित्तामा प्रदर्शनकारीले रातो रंगले ‘घर फर्क’ भन्ने नारा पोतेका छन्। पूर्व प्रधानमन्त्रीको शयनकक्षका झ्याल तोडिएका छन् तर आरामदायी कुर्सीमा बसेर हेर्न मिल्ने टिभीको रिमोट जस्ताको तस्तै देखिन्छ। नजिकै श्रीलंकाका प्रसिद्ध क्रिकेट खेलाडी मुतिया मुरलीथरनबारे लेखिएको किताब देखिन्छ। प्रत्यक्षदर्शी र प्रहरी अधिकारीका अनुसार सोमबार राति भएको हिंसात्मक घटनामा राजापाक्षेको सोही घर पहिलो निशाना बनेको थियो। आक्रमण हुँदा परिवारका कुनै पनि सदस्य घरमा थिएनन्। ‘मैलै यस्तो घटना यसअघि कहिल्यै देखेको थिएन,’ परिवारको सुरक्षामा खटिएका एक सदस्यले बताए। अस्पतालका डाक्टर र नर्सले समेत अन्यथा हुनसक्ने ठान्दै कतिपय घाइतेले अस्पताल जानसमेत साहस नगरेको उनले बताए।

भविष्यमा प्रश्न चिह्न

सन् १९४८ मा स्वतन्त्र भएयताको सबैभन्दा ठूलो वित्तीय संकटले राजापाक्षेको भविष्य सन्देहमा परेको छ। विराकेटिया सहर रहेको हाम्बानटोटोया जिल्लाका धनाढ्य परिवारमा जन्मिएका महिन्द्रा सन् २००४ मा प्रधानमन्त्री बनेयता उनको भाग्य चम्कन सुरु भएको हो। सन् २००५ मा राष्ट्रपतिमा निर्वाचित भएपछि उनले तमिल पृथकतावादीसँग सम्झौता गरेर गृहयुद्ध अन्त्य गरेका थिए। श्रीलंकाको उत्तरी तथा पूर्वी क्षेत्रमा गरिएको सैन्य कारबाहीमा हजारौं मानिसको ज्यान गएको थियो। सन् २०१५ मा तेस्रो पटक राष्ट्रपति हुन असफल भएका महिन्द्राको परिवार सन् २०१९ मा पुनः सत्तामा फर्केको थियो। उनका भाइ गोतावाया राष्ट्रपतिमा निर्वाचित भएका थिए।

सोमबार भएको हिंसात्मक घटनामा मर्र्ने ९ जनामध्ये २ जनाको मृत्यु विराकेटिया सहरमा भएको थियो। स्थानीय सांसदको कार्यालयमा प्रदर्शनकारीले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो। सुरक्षाकर्मीलाई लुट्ने र हिंसात्मक गतिविधिमा संलग्नलाई गोली हान्ने अधिकार दिइएको छ। राजापाक्षेको निवासमा आक्रमण गरेपछि प्रदर्शनकारीले गोतावाया र महिन्द्राका स्वर्गीय पिता डिए राजापाक्षेको सम्मानमा बनाइएको संग्रहालयलाई निशाना बनाएका थिए। संग्रहालयमा प्रदर्शनमा राखिएका सरसामान तोडफोड गरी भित्री भागमा आगोसमेत लगाइएको थियो। रोयटर्सले बुधबार संग्रहालयको भ्रमण गर्दा संग्रहालय रित्तो देखिएको थियो तर स्वर्गीय डिए राजापाक्षेको सुनौलो सालिकको टाउको कालो भुइँमा लडेको थियो।

हिंसात्मक घटना घटेको सोमबार सत्तारुढ दलसँग सम्बद्ध सांसदका घर र पसलमा आक्रमण गरी क्षति पु¥याइएको थियो। केही स्थानीयले अझै पनि राजापाक्षे परिवारलाई समर्थन गरेको पाइयो। बहुसंख्यक बुद्धधर्मावलम्बी सिहाली समुदायका राजापाक्षेलाई तामिल पृथकतावादीको आन्दोलनलाई अन्त्य गरेको श्रेय जान्छ। पक्षाघातका बिरामीसमेत रहेका ६७ वर्षीय पसले रत्नावेरा नन्दासिरी राजापाक्षेले विकलांग भत्ता उपलब्ध गराएकामा खुसी छन्। उक्त भत्ताले जीवन निर्वाह गर्न सहयोग गरेको नन्दासिरी बताउँछन्। उनले गत मंगलबार फलामका रड बोकेका प्रदर्शनकारीले नजिकैको सहर टंगालेमा डिए राजापाक्षेको शालिक नष्ट गरेको प्रत्यक्ष देखेका थिए। ‘मैले आक्रमणकारीलाई उक्त शालिक श्रीलंकाको गृहयुद्ध अन्त्य गरेका व्यक्तिको पिताको रहेको बताएको थिएँ,’ नन्दासिरी भन्छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App