२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा ‘राचेल’ आँधीका कारण ८ जनाको मृत्यु

मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ।

सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठूलो क्षति पुर्याएको छ।

गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा वर्षा र बाढीको समस्या देखिएको छ।

मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन्। सैन्य अधिकारीहरूले पत्रकार सम्मेलनमा थप दुई जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्।

यसअघि सोमबारसम्म चार जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। त्यसबेला हेलिकोप्टरको सहायताबाट ३२ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका थिए।

यस वर्ष प्रशान्त महासागरमा एल निनो मौसमी घटनाका कारण आँधीको गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ।

एल निनोले समुद्रको सतहको तापक्रम बढाउनुका साथै हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ।

यसैबीच, मेक्सिको नजिकै प्रशान्त महासागरमा आँधी ‘साइमन’ र आँधी ‘ट्रुडी’ सक्रिय रहेका छन्। अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार यी दुवै आँधीले तत्काल मेक्सिकोको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन।

‘साइमन’का कारण जालिस्को र गुरेरो राज्यमा भारी वर्षा भएको छ। गुरेरोमा हालै पर्खाल भत्किँदा ७१ वर्षीय एक व्यक्तिको मृत्यु भएको बताइएको छ।

प्रकाशित: २९ आश्विन २०८३ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App