७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

तस्बिरः एजेन्सी।

आफूविरुद्धको अविश्वास प्रस्ताव आइतबार सबेरै पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिएका छन्। प्रधानमन्त्री भएको ३ वर्ष ७ महिनापछि खान सत्ताबाट बाहिरिएका हुन्।

अब प्रतिपक्ष दलका नेता सेवाज सरिफको नेतृत्वमा सोमबार नयाँ सरकार गठन हुने सम्भावना छ। संसद्को सोमबार बस्ने बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ। २२ करोड जनसंख्या भएको तथा पश्चिममा अफगानिस्तान, उत्तर–पूर्वमा चीन र पूर्वमा भारतसँग सिमाना जोडिएका कारण पाकिस्तान रणनीतिक हिसाबले महत्त्वपूर्ण देश मानिँदै आएको छ।

सन् २०१८ मा सत्तामा आएका खानले अमेरिकाको चर्काे आलोचना गर्दै चीनसँग नजिक हुन चाहेका थिए। पछिल्लो समयमा उनी रुससँग पनि नजिक भएका थिए। फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला सुरु गर्दाको दिन खानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए।

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्। अर्थतन्त्र गम्भीर संकटमा रहेको पाकिस्तानमा भएको सत्ता परिवर्तनले विभिन्न राष्ट्रलाई असर पार्ने देखिएको छ।

अफगानिस्तान

पछिल्ला वर्षमा पाकिस्तानको खुफिया एजेन्सी र अफगानिस्तानको तालिवानबीचको सम्बन्ध खस्केको छ। हाल अफगानिस्तानमा तालिवान सत्तामा छ। तर अन्तर्राष्ट्रिय क्षेत्रले तालिवान सरकारलाई मान्यता नदिएका कारण अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट गहिरिएको छ।

अहिले अफगानिस्तानका लागि कतार सबैभन्दा ठुलो वैदेशिक सहयोगी देश बनेको छ। ‘तालिवानसँग सम्पर्क गर्न अमेरिकालाई पाकिस्तान चाहिँदैन। यो भूमिका कतारले निर्वाह गरेको छ,’ सुरक्षासम्बन्धी अमेरिकी थिंकट्यांक ‘सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटी अन्तर्गतको इन्डो प्यासिफिक सेक्युरिटी प्रोग्रामकी निर्देशक लिसा कर्टिस भन्छिन्।

तालिवान र पाकिस्तानी सैनिकबीच भएको तनावका कारण सीमा क्षेत्रको भिडन्तमा कतिपय पाकिस्तानी सैनिक मारिएका थिए। तालिवानले अतिवादी समूहलाई नियन्त्रण गर्नुपर्ने  पाकिस्तानको जिकिर छ।

अतिवादी समूहले आफ्नो देशमा हिंसा फैलाउने चिन्ता पाकिस्तानको छ। पाकिस्तानले भनेझैं यस्ताखाले घटना भएका छन्। तर प्रधानमन्त्रीका रूपमा खानले विश्वका अन्य नेताको तुलनामा मानवअधिकारका विषयमा तालिवानको कम आलोचना गरेका थिए।

चीन: खान विश्व र पाकिस्तानका लागि चीनको सकारात्मक भूमिका हुनुपर्ने चाहन्थे। खान सत्तामा भएको अवधिमा ६० अर्ब अमेरिकी डलरबराबरको चीन–पाकिस्तान इकोनोमिक करिडोर सुरु भएको छ। दुई देशलाई आर्थिक रूपमा नजिक ल्याउने यो सम्झौताप्रति अब गठन हुने सरकारमा सहभागी हुने दुई पार्टीको समेत समर्थन छ।

पाकिस्तानको पूर्वमा रहेको पन्जाब प्रान्तका नेताको हैसियतले तीनपटक प्रधानमन्त्री भएका नवाज सरिफका भाइ सेवाज सरिफले यो सम्झौतालाई समर्थन गरेका छन्। सेवाज नयाँ प्रधानमन्त्रीका उम्मेदवार हुन्। पाकिस्तानले गरेको यो सहमतिप्रति चीन प्रसन्न देखिन्छ।

भारत: सन् १९४७ मा स्वतन्त्र भएयता भारत र पाकिस्तान तीनपटक युद्ध लडिसकेका छन्। जसमध्ये दुई लडाइँ विवादित काश्मीर क्षेत्रका लागि भएका थिए। अफगानिस्तानको सीमा क्षेत्रझैं भारतसँग जोडिएका संवेदनशील क्षेत्रमा पाकिस्तानी सेनाले नीतिगत निर्णय लिने गरेको छ।

सन् २०२१ मा भएको युद्धविरामयता दुई देशबीचको तनाव कम देखिएको छ तर कुनै कूटनीतिक वार्ता भएको छैन। भारतका राजनीतिक विश्लेषक करन थापरका अनुसार काश्मीरमा विद्यमान युद्धविराम सफल पार्न पाकिस्तानी सैनिकले नयाँ सरकारलाई थप दबाब दिन सक्छ। सरिफ परिवारले यसअघि भारतसँग सम्बन्ध बढाउन केही पहल गरेको थियो।

अमेरिका: पाकिस्तानमा भएको सत्ता परिवर्तन अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि खास प्राथमिकताको विषय नहुने दक्षिण एसिया मामिलाका विज्ञ ठान्छन्। हाल अमेरिकाले युक्रेन युद्धमा अत्यधिक ध्यान दिएको छ तर पाकिस्तानमा ठुलो अशान्ति तथा भारतसँगको तनाव बढेको खण्डमा अमेरिकाको ध्यान यसतर्फ केन्द्रित हुने देखिन्छ।

‘हामीसँग अन्य धेरै जिम्मेवारी छन्,’ दक्षिण एसिया क्षेत्रका लागि अमेरिकी पूर्वउपमन्त्री रोविन राफेल भन्छन्। पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीतिमा त्यहाँको सैनिकको  महत्त्वपूर्ण भूमिका रहेकाले सरकार परिवर्तन हुँदैमा त्यसमा खास बदली नहुने कतिपय विज्ञ ठान्छन्।

‘अफगानिस्तान र भारतसँगको सम्बन्ध र आणविक शक्तिजस्ता विषयमा अमेरिकाको चासो रहन्छ। यी विषयमा पाकिस्तानी सैनिकको प्रमुख भूमिका छ। पाकिस्तानमा आन्तरिक राजनीतिक परिवर्तनको विषयलाई अमेरिकाले त्यति  महत्त्व दिँदैन,’ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा काउन्सिलको वरिष्ठ निर्देशकको रूपमा समेत काम गरेकी लिसा कर्टिस भन्छिन्।

उनले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा खानले हालै गरेको मस्को यात्राले अमेरिकासँगको सम्बन्ध बिग्रेको र नयाँ सरकारले यो सम्बन्धलाई सुधार्न सक्ने बताइन्। खानले पाकिस्तानको राजनीतिक संकटका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन्। मस्को यात्राका कारण अमेरिकाले आफूलाई हटाउन चाहेको खानको दाबी छ। तर अमेरिकाले यसमा आफ्नो कुनै भूमिका नरहेको बताएको छ।

प्रकाशित: २८ चैत्र २०७८ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App