१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ।

दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकोप्टरमा १४ जना सवार थिए। एकजनाको उद्धारपश्चात् उपचार भइरहेको जनाइएको छ।

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्। उनी भारतीय वायु सेवा निगमको एमआई–१७ भी ५ हेलिकोप्टरमार्फत बुधबार राजधानी नयाँदिल्लीबाट तमिलनाडुको सुरुरतर्फ उडेका थिए।

विमानमा रावतसहित उनकी श्रीमती र केही उच्च सैनिक अधिकारीसमेत थिए। दुर्घटनामा निधन भएकाहरूको शव पहिचानका लागि डिएनए परीक्षण गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जनरल रावतलाई जनवरी २०२० मा भारतको पहिलो चिफ अफर डिफेन्स स्टाफ नियुक्त गरिएको थियो। त्यसअघि उनी भारतको स्थल सेना प्रमुख रहेका थिए। 

रावतको नेपाल साइनो  

उत्तराखण्डको गढवाली परिवारमा जन्मिएका रावतले सन् १९७८ मा भारतीय सेनाको गोर्खा रेजिमेन्टअन्तर्गत ५औं बटालियनबाट सेवा सुरु गरेका थिए । स्थल सेना प्रमुखका रुपमा उनले पटकपटक नेपाल भ्रमण गरेका थिए ।

सन् २०१७ मार्च २९ मा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदबाट सम्मान गरेकी थिइन् । फरवरी २०१८ मा पनि उनी नेपाली सेना दिवसको कार्यक्रममा उपस्थित हुन नेपाल आएका थिए।

यो वर्ष पनि उनी नेपाल आउने कार्यक्रम तय भएको थियो । उनको भ्रमणका लागि गत वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणको निमन्त्रणा पठाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण उनको भ्रमण रद्द भएको थियो ।  

गत कात्तिक ६ गते भारतको गुहाटीमा एक कार्यक्रममा बोल्ने क्रममा रावतले नेपालसहित दक्षिण एशियाली मुलुकहरूमा चिनियाँ सहयोग भारतको राष्ट्रिय हितविपरीत भएको बताएका थिए।

त्यति बेला उनले चीनले दक्षिण एसिया र हिन्द प्रशान्त क्षेत्रमा बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनामार्फत दखल दिन खोजेको बताएका थिए। उक्त भनाइले उनी विवादमा परेका थिए।

नेपालसहित दक्षिण एसियाली मुलुकमा चीनको बढ्दो प्रभावप्रति उनले चिन्ता व्यक्त गर्दै आएका थिए। उनको निधनप्रति भारतीय उच्च अधिकारीहरूले दुःख व्यक्त गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७८ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App