७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

वायुमण्डलमा हरितगृह ग्यासको घनत्व सर्वाधिक बढ्यो

विश्व मौसम विज्ञान संगठनले विश्वका तापमान वृद्धिका लागि कारक मानिएको हरितगृह ग्यासको घनत्व वायुमण्डलमा गत वर्ष सर्वाधिक बढेको बताएको छ। 

कोरोना महामारीका कारण गरिएको लकडाउनले अस्थायी रूपमा केही मात्रामा घटे पनि यो वृद्धिदर विगत एक दशकको वार्षिक वृद्धिदरभन्दा अत्यधिक रहेको संयुक्त राष्ट्रसंघ आबद्ध उक्त संगठनले सोमबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

वायुमण्डलमा तापमान बढाउन जिम्मेवार मानिएका कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्यास औद्योगीकरण हुनुअघि अर्थात् सन् १७५० को ताकाभन्दा अहिले अत्यधिक रहेको प्रतिवेदनमा उल्लेख छ। औद्योगीकरणपछि मानवीय गतिविधिका कारण पृथ्वीको प्राकृतिक सन्तुलन बिग्रन सुरु भएको मानिन्छ।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुन लागेको विश्व जलवायु सम्मेलन सुरु हुन केही दिन मात्र बाँकी रहँदा यो प्रतिवेदन सार्वजनिक गरिएको छ।

बेलायतको ग्लास्गोमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि संरचना(युएनएफसिसी) को २६सौं बैठक (कोप–२६) अन्तर्गत जलवायुसम्बन्धी पेरिस सम्झौताको लक्ष्यको समीक्षा गर्ने र ती लक्ष्य पूरा गर्न थप प्रतिबद्धता व्यक्त गर्ने दिशामा महŒवपूर्ण हुने मानिएको छ। 

‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्। ‘हरितगृह ग्याँसको वर्तमान वृद्धिदरले के प्रस्ट पारेको छ भने तापमानको वृद्धिदरलाई औद्योगीकरण हुनुअघिको भन्दा १.५ देखि २ प्रतिशतसम्मको वृद्धिदरमा सीमित पार्ने पेरिस सम्झौताको लक्ष्य पूरा नहुने देखिएको छ,’ टलासले भनेका छन्, ‘हामी तय गरेको बाटोभन्दा अन्यत्र मोडिइसकेका छौं।’

हरितगृह ग्यासको अनुगमन गर्ने नेटवर्कले संकलन गरेका तथ्याकका आधारमा तयार पारिएको उक्त प्रतिवेदनमा समुद्र तथा जीवमण्डलले यस्ता खाले ग्यास केही मात्रामा सोस्ने कार्य गरेपछि वायुमण्डलमा बाँकी रहने यी ग्यासको मात्रालाई हिसाब गरिएको छ।

संगठनको प्रतिवेदनमा वायुमण्डलमा कार्बन डाइअक्साइडको घनत्व गत वर्ष सर्वाधिक बढेको उल्लेख छ। खनिज इन्धनको प्रयोगका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको उत्सर्जन अत्यधिक हुने गरेको छ। विश्वको तापमान वृद्धिका लागि कार्बनडाइअक्साइडको योगदान दुई तिहाइ छ। महामारीका कारण गरिएको लकडाउन अवधिमा समेत वायुमण्डलमा हरितगृह ग्यासको स्तरमा उल्लेख्य कमी नआएको संगठनले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App