८ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय पुरुषको मृ`त्यु

एआई तस्बिर

घरको तेस्रो तलाको कौसीमा उभिएर गुट्खा थुक्ने क्रममा ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आउँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

घटना भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गंजबासोदामा शुक्रबार दिउँसो भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार गुप्ता कौसीमा उभिएका बेला गुट्खा थुक्ने क्रममा घरनजिकैबाट गएको हाईटेन्सन तारको सम्पर्कमा आएका थिए। करेन्ट लागेपछि उनी गम्भीर रूपमा जलेका थिए। घटनाबारे जानकारी पाएपछि डायल ११२ को टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

गुप्ता मूल रूपमा छतरपुरका बासिन्दा थिए। उनी विगत १० वर्षदेखि गंजबासोदामा भाडाको घरमा बस्दै आएका थिए। मेकानिकको काम गरेर जीविकोपार्जन गर्दै आएका उनको मृत्युले स्थानीय क्षेत्रमा शोक छाएको छ।

घटनापछि स्थानीयले घरनजिकैबाट गएको हाईटेन्सन लाइन हटाउन पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार विद्युत् कम्पनीका अधिकारीलाई यसबारे जानकारी गराइए पनि समस्या समाधानका लागि आवश्यक कदम चालिएन।

स्थानीय मनिष विश्वकर्माले क्षेत्रमा विद्युत् लाइन र उपकरणको नियमित मर्मतसम्भार नभएको भन्दै असन्तुष्टि जनाए। उनका अनुसार कतिपय स्थानमा ११ केभीका हाईटेन्सन तार घरनजिकैबाट गएका छन्, जसले स्थानीयको सुरक्षामा जोखिम बढाएको छ। उनले सम्बन्धित निकायलाई विद्युत् लाइन र उपकरणको निरीक्षण गरी आवश्यक सुधार गर्न माग गरेका छन्।

घरधनी पद्मा चिधरले पनि आफ्नो घरनजिकैबाट गएको हाईटेन्सन लाइन हटाउन विद्युत् कम्पनीका अधिकारीलाई पटक-पटक आग्रह गरेको बताइन्। अधिकारीहरूले लाइन चाँडै हटाउने आश्वासन दिए पनि लामो समय बितिसक्दा पनि त्यसबारे कुनै कदम नचालिएको उनको आरोप छ।

प्रकाशित: ८ कार्तिक २०८३ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App