नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन्।
घटनापछि हजारौँ मानिस विस्थापित भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले मंगलबार जनाएको छ।
निकायका राज्य प्रमुख लादान आयुबाका अनुसार फिरौतीका लागि अपहरण र अन्य आपराधिक गतिविधिमा सङ्लग्न ‘ब्यान्डिट’ भनिने समूहले शुक्रबार ताराबा राज्यको करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने बिनारी समुदायमा आक्रमण गरेका थिए।
राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अधिकारीले हालसम्म ५२ वटा शव फेला परेको जनाएका छन्। तीमध्ये १५ वटा शव बेनुए नदीबाट निकालिएका हुन्।
ताराबा प्रहरीका प्रवक्ता भिक्टर म्शेलिजाका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए।
‘हाम्रा टोलीहरू अझै घटनास्थलमा खटिएका छन्। थप शव फेला पर्दै जाँदा मृतकको सङ्ख्यामा समावेश गर्दै जानेछौँ,’ उनले भने।
एम्नेस्टी इन्टरनेसनल नाइजेरियाका निर्देशक इसा सानुसीका अनुसार आक्रमणकारीबाट बच्न भागेका मानिसहरू नदीमा हामफाल्न बाध्य भएका थिए।
आक्रमणकारीहरूले सर्वसाधारणलाई लखेट्दै नदीतर्फ धकेलेका कारण धेरै मानिस नदीमा पुगेको उनले बताए।
नाइजेरिया पछिल्लो समय गम्भीर सुरक्षा सङ्कटसँग जुधिरहेको छ। देशका विभिन्न क्षेत्रमा सक्रिय आपराधिक समूहहरूले फिरौतीका लागि सामूहिक अपहरण गर्ने र अवैध खानी क्षेत्रहरूमा नियन्त्रण कायम गर्ने गरेका छन्।
यसका अतिरिक्त बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सजस्ता इस्लामवादी सशस्त्र समूहले पनि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। एपी
प्रकाशित: १० कार्तिक २०८३ १८:३७ मंगलबार




-600x400.jpg)
