१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमानस्थलमा पाँचजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवनमा प्रवेश गर्ने मुख्य द्वारअघि सोमबार पहरा दिँदै मेसिनगनसहितका तालिबान लडाकु। तस्बिर: एपी

अफगानिस्तानको राजधानी काबुल छाड्न चाहनेको भिड र अव्यवस्थाका कारण काबुल विमानस्थलमा ५ जनाका मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। मृत्युको कारण प्रस्ट भएको छैन। तर एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी दूतावासका कर्मचारी र कूटनीतिज्ञलाई लिन गएको एक सैनिक जहाजमा अरू पनि प्रवेश गर्न खोजेपछि सैनिकले हवाई फायर गरेका थिए।

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन। सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा विमानस्थलको एउटा प्रवेशद्वारमा तीनवटा शव देख्न सकिन्छ। अर्का एक प्रत्यक्षदर्शीले ५ जनाको शव देखेको बताए। यद्यपी मृतकको संख्या अझै बढ्न सक्ने संभावना पनि उत्तिकै छ।

तालिबान लडाकुले काबुल कब्जा गरेको दोस्रो दिन अमेरिकी सेनाले आफ्नो दूतावासका कर्मचारीलाई उद्धार गर्न सुरक्षा दिइरहेको छ। तालिबानले लडाइँ सकिएको र शान्ति स्थापना भएको जनाएको छ। तर पनि विमानस्थलमा काबुल छाड्न चाहनेको ठुलो भिड छ। तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो। सन् २००१ मा अमेरिकाको हस्तक्षेपपछि तालिबान सत्ताच्युत भएको थियो भने अहिले हिंसाको बलमा पुन सत्ता कब्जा गरेको हो। यसैबीच अफगानिस्तानको पछिल्लो परिस्थितीलाई लिएर संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा छलफल भएपनि ठोस निष्कर्ष आएको छैन।

प्रकाशित: १ भाद्र २०७८ ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App